काठमाण्डौ । प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न एक दर्जन कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । दुई हाइड्रो कम्पनीसहित ११ कम्पनीले अंकित मूल्य भन्दा बढी मूल्य निर्धारण गरेर सेयर जारी गर्नका लागि बोर्डसँग अनुमति मागेका छन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अधिकांश आइपीओहरु अंकित मूल्य १०० रुपैयाँमै आउने गरेका छन् । तर बुक बिल्डिङ प्रणाली लागू भएपछि केही कम्पनीहरु प्रिमियम मूल्यमा आइपीओ जारी गर्न थालेका छन् । सोही बमोजिम एक दर्जन कम्पनी प्रिमियममा सेयर बेच्नका लागि बोर्डको स्वीकृतिको पखाईमा छन् ।
धितोपत्र बोर्डका पूर्वाध्यक्ष रमेश कुमार हमालले इन्स्योरेन्ससहित केही कम्पनीहरुलाई अपारदर्शी ढंगले प्रिमियम मूल्यमा सेयर बिक्री गर्न अनुमति दिएपछि प्रश्न उठेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै उनीमाथि छानबिन गरेको थियो ।
अझैपनि ११ वटा कम्पनी प्रिमियम मूल्यमा आइपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति कुरिहेका छन् । धितोपत्र बोर्डका अनुसार उक्त कम्पनीहरुको वित्तीय अवस्था कमजोर भएका कारण प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न दिने वा नदिने भन्ने विषय अन्योल बनेको छ ।
धमाधम अंकित मूल्यमै आइपीओ बिक्री गर्न अन्य कम्पनीहरुले अनुमति पाइरहेको अवस्थामा उक्त ११ कम्पनीले प्रिमियममा आइपीओ जारी गर्न अनुमति पाउछ वा पाउँदैन भन्ने कौतुहलताको विषय पनि बनेको छ ।
तर यसअघिको सेनारियो र पूर्वाध्यक्ष रमेश कुमार हमालले प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न अनुमति दिएपछि उनीमाथि भएको छानबीनले गर्दा नयाँ अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सतर्क बनाएको छ ।
प्रिमियम मूल्यमा आइपीओ बिक्री गर्न अनुमति माग्नेमा दुई हाइड्रोपावर, एक लगानी कम्पनी, पाँच उत्पादन तथा प्रशोधन समूहतर्फको कम्पनी र तीन अन्य समूहतर्फका कम्पनी रहेका छन् । ती कम्पनीहरुले अंकित मूल्यमा तीनसय रुपैयाँसम्म मूल्य थप गरेर आइपीओ जारी गर्न अनुमति मागेका छन् ।
