काठमाण्डौ । चर्चित सेयर ब्रोकर कम्पनी अनलाइन सेक्युरिटिजका सञ्चालक तथा अध्यक्ष अनन्त पौडेलको ४२ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि मृगौला रोगबाट पीडित उनको बिहीबार बिहान काठमाण्डौस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पछिल्लो समय उनको मृगौलामा एक्कासी समस्या देखिएको थियो । मृगौला फेलियर भएपछि भारत लगेर ट्रान्सप्लान्ट गरिएको थियो । ट्रान्सप्लान्ट असफल भएकै कारण केही समयअघि काठमाण्डौको एउटा अस्पतालको उनको खुट्टा काट्नू परेको थियो । मृगौला ट्रान्सप्लान्ट असफल भएकै कारण उनको निधन भएको स्रोतले जनाएको छ ।
अनलाइन सेक्युरिटिज लिमीटेडले ब्रोकर नम्बर ४९ को रुपमा काम गर्दै आएको छ ।
ब्रोकरहरुमा निकै मृदुभाषी र मिलनसारको रुपमा चिनिने पौडेलका पत्नी र तीन सन्तान छन् ।
स्वर्गीय पौडेलको अन्त्येष्टि आज साँझ ५ बजे पशुपति आर्यघाटमा गरिनेछ ।