काठमाण्डौ । तीनकुनेमा आज राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएका झडपका क्रममा २२ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रदर्शनकारी छन् ।
प्रहरीबाट हालसम्म प्राप्त विवरणअनुसार केही सुरक्षाकर्मी समेत घाइते भएका छन् ।
प्रदर्शनपछि भएका झडपहरुका क्रममा राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कँडेल, शंकर तिवारी, निखिल कार्की, कुमारजंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् । घाइते प्रदर्शनकारीहरुको ठेगना खुलाइएको छैन ।
झडपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार चन्द्र बूढा पनि घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले ठाउँ ठाउँ तोडफोड र आगजनी गरेका छन् । केही सरकारी गाडी तथा केही सवारीहरुमा समेत आगजनी भएको छ ।
केही निजी घर तथा व्यवसायिक महलहरुमा समेत तोडफोड र ढुंगामूडा भएको छ ।
स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले तीनकुने र आसपासको क्षेत्रमा आज राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।