काठमाण्डौ । सरकारले आगामी १२ बैशाखमा बस्ने गरी संसदको बजेट अधिवेशन आह्वानका लागि राष्टपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकले बैशाख १२ गते शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै, आजको क्याबिनेटले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न आवश्यक कानुन ल्याउने निर्णय पनि गरेको छ। विद्यालय शिक्षा ऐन अहिले संसदीय समितिमा विचाराधीन छ।
आजको बैठकमा सहभागी अधिकांश मन्त्रीहरुले शिक्षकहरुको माग सम्बोधन गर्ने गरी आवश्यक तयारी गरी अगाडि बढ्नुपर्नेमा सहमति जनाएका छन् । उनीहरुले दुवै सदनबाट हाल विचाराधीन शिक्षा ऐन सकेसम्म चाँडो पारित गरेर आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । विगत २ सातादेखि देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले लगातार काठमाण्डौ आएर प्रदर्शन गरिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयको प्रमुख बुँदा उपलब्ध गराएको छ । जुन निम्नअनुसार छः
१. संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने,
२. नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ ।
३. नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गर्ने ।