काठमाण्डौ । सोमबार प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएमा निजामति कर्मचारीले खुल्ला बजारबाट सेयर खरीद गर्ने अवसर पाउनेछन् ।
विधेयकको दफा नम्बर ८१ मा कम्पनी स्थापना वा सञ्चालन गर्न वा व्यापार व्यवसाय गर्न नहुने व्यवस्था अन्तर्गत निजामति कर्मचारीले खुल्ला बजारबाट सेयर खरीद गर्न वा आधारभूत सेयरधनी नहुने गरी एक प्रतिशत भन्दा कम संस्थापक सेयर खरीद गर्न सकिने छुट समेत दिएको हो ।

तर, सोही दफाले निजामति कर्मचारीले सरकारको स्वीकृतिबिना कुनै बैंक, कम्पनी वा सहकारी संस्था स्थापना गर्न वा सञ्चालनको काममा भाग लिन तथा कानूनबमोजिम दर्ता गराउनुपर्ने कुनै व्यापार तथा व्यवसाय गर्न रोक लगाएको छ ।
यो विधेयक संसद सचिवालयले दर्ता गरेको छ । संसदबाट पारित भएपछि मात्र यो कानून बनेर कार्यान्वयनमा आउनेछ ।

विधेयकले निजामति कर्मचारीलाई राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने व्यवस्था समेत गरेको छ । कुनै पनि निजामति कर्मचारीले राजनीतिक दल, तिनका भातृ संगठन, दलको जनवर्गीय संगठन वा राजनीतिक दलसँग आबद्ध पेशागत संगठनको सदस्यता लिन, राजनीतिक क्रियाकलापमा संलग्न हुन वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा भाग लिन समेत बन्देज लगाएको छ ।

निजामति कर्मचारीमाथि सरकार वा सरकारी कामको आलोचना गर्न समेत रोक लाग्ने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।
यस्तै, सामाजिक सञ्जालमा सामाजिक कलह बढ्ने, हिंसा भड्किने गरी वा सार्वजनिक पदाधिकारी वा कुनै राजनीतिक दल वा राजनीतिक दलको पदाधिकारीका पक्ष वा विपक्षमा कुनै पनि टिप्पणी गर्न नहुने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।
विधेयकले कर्मचारीले पाउने चाँडपर्व खर्च, कर्मचारी सञ्चय कोष, बीमा, उपचार खर्च, स्वास्थ्य बीमा योजना, आवास सुविधा लगायतका सेवासुविधामा अहिलेको भन्दा केही एड्भान्स व्यवस्था प्रस्ताव गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।