बिहीबार, असार ११,२०८३ 03:53:14
Bizshala
  • बिहीबार, असार ११,२०८३ 03:53:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयर बजारलाई थप समृद्ध बनाउन वास्तविक अर्थतन्त्रको विस्तारमा जोड दिनुपर्छ: कामु गभर्नर

Laxmi Sunrise Bank Limited
सेयर बजारलाई थप समृद्ध बनाउन वास्तविक अर्थतन्त्रको विस्तारमा जोड दिनुपर्छ: कामु गभर्नर

काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठको नेतृत्वमा पदाधिकारी टोलीले नेपाल राष्ट्र बैंकका कामु गभर्नर डा. नीलम ढुङ्गानासँग औपचारिक परिचयात्मक भेटघाट सम्पन्न गरेको छ। यो भेटघाटको मुख्य उद्देश्य संघको गतिविधि, लक्ष्य र योजनाहरूबारे जानकारी गराउनुका साथै सेयर बजारको विकास र लगानीकर्ता हितका लागि राष्ट्र बैंकसँग सहकार्यको सम्भावना खोज्नु रहेको संघले जनाएको छ ।  

अध्यक्ष डा. श्रेष्ठले संघको स्थापना, उद्देश्य र दीर्घकालीन योजनाहरूबारे विस्तृत रूपमा प्रकाश पारे । उनले विशेषगरी लगानीकर्ताहरूलाई वित्तीय साक्षरता प्रदान गर्ने, सेयर बजारसम्बन्धी सूचना प्रवाहलाई प्रभावकारी बनाउने र बजारमा पारदर्शिता तथा विश्वसनीयता कायम गर्ने कुरालाई संघको प्राथमिकतामा राखिएको बताए। साथै, सेयर बजारलाई आम लगानीकर्ताका लागि सुरक्षित र समावेशी बनाउन संघले रचनात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटका क्रममा संघका संस्थापक महासचिव रबिन कँडेलले कामु गभर्नर डा. ढुङ्गानालाई संघको औपचारिक पत्र हस्तान्तरण गरे। उनले हालको सेयर बजारको अवस्था, यसमा देखिएका चुनौतीहरू र सम्भावनाहरूबारे चर्चा गरे।  

New Office
CG Motors
Garima Development Bank

साथै, अर्थतन्त्रमा नेपाल राष्ट्र बैङ्कको नियामकीय भूमिका र यसले सेयर बजारमा पार्ने प्रभावबारे आफ्नो धारणा राखे। उनले संघले लगानीकर्ताको हित संरक्षण र बजारको स्थायित्वका लागि राष्ट्र बैंकसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरे ।  

कामु गभर्नर डा. नीलम ढुङ्गानाले संघको प्रयास र लगानीकर्ता शिक्षाप्रति देखाएको प्रतिबद्धताको प्रशंसा गरिन्। उनले नेपालको सेयर बजारलाई थप समृद्ध बनाउन वास्तविक अर्थतन्त्रको विस्तार र उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्। हाल सेयर बजारमा बैंक तथा वित्तीय संस्थाहरूको ६० प्रतिशत भन्दा बढी हिस्सा रहेको उल्लेख गर्दै उनले उत्पादनमूलक कम्पनीहरूको सहभागिता बढाउन र वित्तीय क्षेत्रको प्रभुत्व क्रमशः घटाउन आवश्यक रहेको बताइन्।

डा. ढुङ्गानाले नेपाल राष्ट्र बैंक सेयर बजारको प्रत्यक्ष नियामक नभए पनि मौद्रिक नीति र ब्याजदरले बजारको गतिशीलतामा महत्त्वपूर्ण प्रभाव पार्ने स्पष्ट पारिन्। संघको वित्तीय साक्षरता र लगानीकर्ता शिक्षासम्बन्धी पहललाई सकारात्मक रूपमा लिँदै उनले यस्ता प्रयासहरूमा राष्ट्र बैंकले सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले संघलाई लगानीकर्ताहरूको हितमा थप रचनात्मक कार्य गर्न प्रोत्साहन गरिन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संघले आम लगानीकर्ताको हकहित संरक्षण र सेयर बजारको समग्र विकासमा आफूलाई समर्पित गर्ने दृढ सङ्कल्प दोहोर्‍याएको छ। उक्त भेटघाटमा संघका अध्यक्ष डा. केशवप्रसाद श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष किशोर पौडेल, महासचिव रबिन कँडेल, सचिव भुबन ढकाल, कोषाध्यक्ष मछिन्द्र बस्नेत, सदस्यहरू विवेक श्रेष्ठ, सुदर्शन गौतम र मिना भट्टको सहभागिता रहेको थियो।

यो भेटघाटले संघ र नेपाल राष्ट्र बैंकबीच भावी सहकार्यका लागि महत्त्वपूर्ण आधार तयार गरेको संघले उल्लेख गरेको छ। संघले आगामी दिनमा पनि लगानीकर्ताको हित र सेयर बजारको सुधारका लागि यस्ता रचनात्मक संवादलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.