काठमाण्डौ । सेयर लगानीकर्ताको हितमा काम गरिरहेका केही संगठनका प्रतिनिधिहरुले नेपाल राष्ट्रबैंकका गभर्नर विश्व पौडेलसँग भेटवार्ता गरी ३ बुँदे मागपत्र पेश गरेका छन् ।
नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, जनरल इन्भेष्टर्स अशोसिएसन नेपाल लगायतका संगठनका प्रतिनिधिहरुले गभर्नर पौडेललाई भेटेर सेयर बजारसँग सम्बन्धित बैंक तथा वित्तीय संस्थासँग सरोकार राख्ने केही अप्ठ्यारा नीतिहरु मौद्रिक नीति वा सर्कुलरमार्फत संसोधनको माग गरेका हुन् ।
लगानीकर्ताहरुले व्यक्तिगत सेयरधितो कर्जाका लागि लगाइएको एकाघर परिवारको लिमीट पूर्ण रुपमा हटाउनुपर्ने माग गरेका छन् । तरलताको अवस्था सुविधाजनक रहेका कारण दर्शाउँदै आर्थिक क्षेत्र चलायमान बनाउनका लागि समेत एकाघर परिवारका लागि राखिएको १५ करोडको सीमाको औचित्य नरहेको लगानीकर्ताको जिकिर छ ।
यस्तै, लघुवित्त संस्थाहरुलाई लगाइएका असहज नीतिहरु सहज बनाउन पुनरावलोकन गरी लाभांशमा लगाइएको १५ प्रतिशतभन्दा बढी वितरण गर्न नपाइने भन्ने बाध्यकारी क्याप समेत हटाइदिन आग्रह गरेका छन् ।
‘बैंकहरुले जस्तै लघुवित्त कम्पनीहरुले खराब कर्जा व्यवस्थापनका लागि राष्ट्रबैंकको निर्देशनअनुसार आम्दानीको निश्चित प्रतिशत रकम व्यवस्थापन गरिसकेपछि लाभांश वितरणमा १५ प्रतिशतको क्याप लगाउनुले लघुवित्त कम्पनीहरुमा लगानी गर्नेहरुको मनोबलमा उत्साह देखिन्न ।’ उनीहरुले बुझाएको ज्ञापनपत्र भनिएको छ ।
लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुबाट आफ्नो कोर क्यापिटलको निश्चित प्रतिशत रकमसम्म पूँजी बजारमा सेयर खरीदबिक्री गर्नका लागि खुल्ला गर्नुपर्ने माग पनि गरेका छन् ।
अहिलेको सीमा व्यवहारिक नभएको जिकिर गर्दै उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको लगानी समेत प्रभावित हुने देखिएकोले बैंक तथा वित्तीय संस्थाले निश्चित रकम खुल्ला रुपमा सेयर बिक्री गर्न पाउने प्रावधानले पूँजीबजार र अर्थतन्त्र थप चलायमान हुने समेत दाबी गरिएको छ ।




प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।