काठमाण्डौ । सुनचाँदी व्यवसायीहरुले आजदेखि सुनचाँदी पसल खुला गर्ने भएका छन् । विलासिता कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले खारेज गर्न व्यवसायीले माग गर्दै आएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मक आश्वासन दिएसँगै सुन व्यवसायीले पसल खुला गर्न लागेका हुन् ।
कर र भ्याट खारेजीको माग गर्दै विगत एक सातादेखि सुनचाँदी व्यवसायीले पसल बन्द गरेर विरोधका कार्यक्रम गर्दै आएका छन् । सरकारले सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा १३ प्रतिशत भ्याटको व्यवस्था गरेसँगै सुन व्यवसायीहरु विरोधमा उत्रेका हुन् ।
व्यवसायहीरुले टोलीले मंगलबार प्रधानमन्त्रीलाई भेटेर सुनचाँदी कारोबारमा लगाइएको २ प्रतिशत विलासिता कर तथा हिरा र बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर (भ्याट( लगाउने व्यवस्थाबाट परेको मर्काबारे ध्यानाकर्षण गराएका थिए। उक्त टोलीमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्षसहितको सदस्यहरु सहभागी थिए ।
उक्त अवसरमा प्रधानमन्त्रीले व्यवसायीका मागका विषयमा सम्बन्धित निकायसँग बुझेर पूरा गर्न सक्ने माग सम्बोधन गर्न लाग्ने बताएका थिए। प्रधानमन्त्रीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न आश्वासन दिएका छन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                