काठमाण्डौ । धितोपत्र व्यवसायी अर्थात स्टक ब्रोकरहरुबाट नेपाल स्टक एक्सचेञ्जले तयार पारेको धितोपत्र कारोबार विनियामवली २०७५ को ठाडो उल्लंघन गरेको तथ्य भेटिएको छ । नेपाल स्टक एक्सचेञ्जले लगानीकर्ता र ब्रोकरहरुबीच धितोपत्र कारोबार विनियमावली २०७५ जारी गरेको थियो । जसमा कारोबार सदस्य र लगानीकर्ताबीचमा लिन दिन बाँकी रकमबाट सिर्जित दायित्व वा प्रतिफल सम्बन्धी विषय समेटिएको छ ।

यसको अर्थ ब्रोकर र लगानीकर्ताबीचको कारोबारबाट सिर्जित दायित्वमा दुवै पक्षले दायित्व लिनुपर्छ भन्ने हो । अर्थात यदि कुनै पनि ग्राहकले समयमा भुक्तानी नदिएको खण्डमा ब्रोकरले ब्याज लिन्छन् भने ग्राहकलाई पनि ब्याज भुक्तानी गर्नुपर्छ भन्ने हो । तर ब्रोकरहरुले यो बुँदा नै गायब गरेर प्रथम पक्ष र दोस्रो पक्ष अर्थात ब्रोकर र लगानीकर्ताहरुबीच सम्झौता गर्ने गरेको खुलेको छ ।
यसको प्रमाण राजधानीका ठूला ब्रोकरहरुमा नै भेटिएको छ । ठूलो ब्रोकर भनेर चिनिने नासा सेक्यूरिटिजले सम्झौतापत्रको बुँदा नम्बर १७ मा लेखेको छ, ‘दोस्रो पक्षले समयमा नै आफ्नो दायित्व पुरा नगरेको खण्डमा बैंकलाई कर्जा बापत बुझाउनु पर्ने ब्याजबराबरको रकममा ५ प्रतिशतसम्म प्रशासनिक खर्च जोडेर हुन आउने रकम असुल गर्नेछ ।’ अर्थात लगानीकर्ताले समयमा नै भुक्तानी नगरेको खण्डमा ब्रोकरलाई वाणिज्य बैंकको ब्याजदरमा पाँच प्रतिशतसम्म थपेर ब्रोकरले लिन सक्ने छ ।
तर लगानीकर्ताले कारोबार गरेको रकममा ब्रोकरले समयमा भुक्तानी नगरेको खण्डमा भने यो सम्झौता पत्रमा कहीकतै केही उल्लेख गरिएको छैन । यस सम्झौता पत्रको बुँदा नम्बर २७ मा मार्जिन कारोबारको विषयमा लेखिएको छ । तर दोस्रो पक्षबाट सिर्जित दायित्वको विषयमा कुनै विषय समावेश गरिएको छैन । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुली नेप्सेले सम्झौतापत्र तयार गर्दा दुबै पक्षबाट सिर्जित दायित्वमा बराबर रुपमा हिस्सेदार हुने दाबी गर्छन । स्रोतले दिएको जानकारी अनुसार ब्रोकरहरुले यस सम्झौतापत्रमा हुनुपर्ने ४० वटा बुँदामा एउटा बुँदा नै हटाएर लगानीकर्ताहरुसँग सम्झौता गरेका छन् ।

खोजतलास हुन थालेपछि छुटाइएको बुँदा हातैले थपियो
पछिल्लोपटक यस विषयमा बिजशालाले एक महिनादेखि विभिन्न ब्रोकर हाउस र नेप्सेमा पुगेर सोधपुछ गरेको थियो । यस विषयमा आफ्नो कमजोरी भोटिएपछि सुमेरु सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३९) ले उक्त सम्झौतापत्रमा बुँदा नम्बर १६ मा एउटा सहायक बुँदा थपेको छ । उक्त थपियको बुँदामा भनिएको छ ‘प्रथम पक्षले र दोस्रो पक्षलाई धितोपत्र बिक्रीबापत दिनुपर्ने भुक्तानी केही कारणवस रोकिन पुगेको अवस्थामा वाणिज्य बैंकहरुले आफ्ना ग्रहाकलाई बचत खातामा दिने ब्याजदर सरह थप गरि भुक्तानी रकम उपलब्ध गराउने छ ।’

नागरिक स्टक डिलरको विषयमा गुनासो
पछिल्लो समय यसै विषयमा नागरिक स्टक डिलर (स्टक ब्रोकर नम्बर ६०) को विषयमा लगानीकर्ताहरुले गुनासो गर्ने गरेका छन् । तर बिजशालाको खोजतलासमा नागनरिक स्टक डिलरले भने बुँदा नम्बर ११ मा थप सातवट बुँदा थपेर यस विषयमा प्रष्ट रुपमा आफूले पनि सिर्जित दायित्वमा ब्याज लिन सक्ने र कुनै कारणवस भुक्तानी ढिलो हुन गएमा सिर्जित दायित्वमा ब्याज भुक्तानी गर्नसक्ने देखिन्छ । यस हिसावले केही लगानीकर्ताले गुनासो गरेता पनि नेप्सेले तयार गरेको सम्झौता अनुसार नै नागरिक स्टक डिलर चलेको देखिन्छ ।
.jpg)