काठमाण्डौ । म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेक्काको म्याद तेस्रोपटक थपिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको राहुघाट जलविद्युत् आयोजनाको म्याद तेस्रोपटक २०२५ नोबेम्बर २७ सम्म थपिएको हो ।
भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्य सहित २०७४ मंसिर ६ गते ६ अर्बमा ठेक्का सम्झौता गरेको थियो । सन २०२२ फेब्रुअरीमा पहिलो र सन २०२२ फेब्रुअरीमा दोस्रोपटक थपिएको म्याद गत जुन २७ मा सकिएको थियो ।
यो आयोजनाको हालसम्म ९० प्रतिशत भौतिक प्रगति भएको छ । बर्खायाममा बुग्लको पहिरो सक्रिय हुँदा बाँधस्थल जोड्ने सडक अवरुद्ध हुने र निर्माणाधीन बाँध नजिकै बाढीले गेग्रान थुपार्दा आयोजना निर्माणको काम प्रभावित बनाएको थियो । सर्वोच्च अदालतले तीन वर्षसम्म कालीगण्डकी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न रोक लगाएको थियो ।
यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी (डबल सर्किट( क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । यसका लागि चारवटा टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।