काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरुका लागि लाभांश वितरणसम्बन्धी सर्कुलर जारी गरेको छ । सो बमोजिम लघुवित्त संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार लघुवित्त संस्थाहरुले लाभांश घोषणा गर्दा लाभांश वितरणपछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपात (एनपीएल)लाई आधार मानेर राष्ट्र बैंकले तोकेको सीमाभित्र रही लाभांश वितरण गर्नुपर्नेछ ।
जसबमोजिम ५ प्रतिशतभन्दा थोरै एनपीएल भएका संस्थाहरुको १२ प्रतिशतभन्दा बढी पुँजीकोष अनुपात भएमा मात्रै २५ प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् ।
साथै, ५ प्रतिशत एनपीएल भएका लघुवित्तहरुको १० देखि १२ प्रतिशतसम्म पुँजीकोष भएमा २० प्रतिशत र ८ देखि १० प्रतिशत पुँजीकोष भएमा १५ प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था छ ।
यता ५ देखि १० प्रतिशत एनपीएल भएका संस्थाहरुको हकमा १२ प्रतिशत पुँजीकोष भएमा २० प्रतिशत लाभांश, १० देखि १२ प्रतिशतसम्म पुँजीकोष भएमा १५ प्रतिशत र ८–१० प्रतिशतसम्म पुँजीकोष भएमा १० प्रतिशत लाभांश वितरण गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।
त्यस्तै, १० देखि १५ प्रतिशतसम्म एनपीएल रहेका संस्थाहरुको हकमा भने १२ प्रतिशत पुँजीकोष भएमा १५ प्रतिशत, १० देखि १२ प्रतिशत पुँजीकोष भएमा १० प्रतिशत र ८ देखि १० प्रतिशतसम्म पुुँजीकोष भएमा ५ प्रतिशत मात्रै लाभांश वितरण गर्न पाइनेछ ।
साथै गत आवको असार मसान्तसम्ममा १५ प्रतिशतभन्दा बढी एनपीएल रहेका संस्थाहरुले भने कुनै खालको लाभांश बाँड्न नपाउने राष्ट्र बैंकले जनाएको छ । त्यस्ता संस्थाहरुको पुँजीकोष अनुपात जतिसुकै भएपनि एनपीएल कायम गर्न नसक्ने लघुवित्तहरुले कुनै खालको लाभांश वितरण गर्न नपाउने राष्ट्र बैंकका लघुवित्त विभाग प्रमुख किरण पण्डितले बताए ।
गत आवको अन्त्यसम्मको वित्तीय विवरणअनुसार नेष्डो समृद्ध लघुवित्त र एनआइसी एशिया लघुवित्तको एनपीएल १५ प्रतिशतभन्दा बढी छ, सो बमोजिम यी संस्थाहरुले यो वर्षको लागि कुनै खालको लाभांश बाँड्न पाउने छैनन् ।
राष्ट्र बैंकका अनुसार खराब कर्जा अनुपात र पुँजीकोष अनुपातको आधारमा २५ प्रतिशत लाभांश बाँड्न पाउने संस्थाहरु ८ मात्रै छन् । तर यी संस्थाहरुले वित्तीय विवरणमा छुट्याएको वितरणयोग्य मुनाफाको आधारमा भने तीन संस्था मात्रै २५ प्रतिशत लाभांश बाँड्न योग्य देखिएका छन् ।
जसमा छिमेक लघुवित्त, साना किसान विकास लघुवित्त र जीवन विकास लघुवित्त रहेका छन् ।
साथै २० प्रतिशतसम्म लाभाश बाँड्न पाउने संस्थाहरुको संख्या भने ११ रहेको छ । तर ती संस्थाहरुको लाभांश क्षमताको आधारमा भने ५ कम्पनी मात्रै सो प्रतिशत लाभांश बाँड्न योग्य देखिएका छन् । जसमा ग्लोबल आइएमई लघुवित्त, नेशनल लघुवित्त, महुली लघुत्तित्त, डिप्रोक्स लघुवित्त र निर्धन उत्थान लघुवित्त रहेका छन् ।
साथै राष्ट्र बैंकका अनुसार १५ प्रतिशतसम्म लाभांश बाँड्न सक्ने संस्थाहरुमा भने १९ वटा संस्था छन् । तर यी संस्थाहरुको लाभांश क्षमताको आधारमा भने ९ संस्थाले मात्रै सो प्रतिशत लाभांश दिन सक्नेछन् ।
जसमा महिला, स्वाभिमान, आशा, गणपति, सिवाइसी नेपाल, उन्नती सहकार्य, इन्फिनिटी, स्वरोजगार र स्वाभिमान लघुवित्त रहेका छन् ।
यसका साथै १० प्रतिशत लाभांश बाँड्न पाउने संस्थाहरुमा भने ७ वटा संस्था रहेकोमा ४ ले मात्रै सो प्रतिशत लाभांश दिन सक्नेछन् । जसमा हिमालयन, सम्पदा, मानुषी र श्रृजनशील लघुवित्त रहेका छन् ।
यसबाहेक नेरुडे लघुवित्त, युनिक नेपाल लघुवित्त र नाडेप लघुवित्तले भने एनपीएल र पुँजीकोष अनुपातको आधारमा जम्मा ५ प्रतिशत मात्रै लाभांश बाँड्न पाउनेछन् ।
साथै, राष्ट्र बैंकका अनुसार संस्थाहरुले खराब कर्जा अनुपात र पुँजीकोष अनुपातको आधारमा लाभांश क्षमता बढी भएपनि सोही सीमाभित्र रहेर मात्रै लाभांश बाँड्न सक्नेछन् ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।