काठमाण्डौ । सुरक्षा निकायहरुको सहयोगमा प्रमुख दलका शीर्ष नेताहरु घरबास छाडेर सुरक्षित स्थानमा सर्न थालेका छन् ।
सुरक्षा अधिकारीहरुले दिएको जानकारी अनुसार एमाले, कांग्रेस, माओवादी लगायतका दलका शीर्ष तथा अन्य नेताहरुलाई हेलिकोप्टर प्रयोग गरेर सुरक्षित स्थानतर्फ सार्न थालिएको हो ।
प्रदर्शनकारीहरुले मंगलबार बिहानैदेखि शीर्ष नेताहरुको घरलाई टार्गेट गर्दै तोडफोड र आगजनी गरिरहेका छन् । यो क्रममा बढी टार्गेटमा परेका नेताहरुलाई चारैवटा सुरक्षा निकायको समन्वयमा हेलिकोप्टरमार्फत उद्धार गरी सुरक्षित स्थानमा सार्न थालिएको हो ।
प्रदर्शनकारीहरुले आज कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष प्रचण्ड, सञ्चारमन्त्री पृथ्वी सुब्बा, भैसेंपार्टीमा रहेको मन्त्री क्वार्टर, पार्टीका मुख्यालयहरु लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।
प्रदर्शनकारी बुढानिलकण्ठस्थित देउवा निवास पुग्नुअघि नै देउवा दम्पत्ति त्यहाँबाट सुरक्षित स्थानमा गइसकेका सूचना बाहिर आएको छ ।
यस्तै, अन्य नेताहरुको घरमा तोडफोड र आगजनी भएको समयमा उनीहरु बिहान नै घर छाडेर सुरक्षित स्थानतर्फ गइसकेका थिए ।
भैसेपाटीमा रहेको मन्त्री क्वार्टरबाट समेत मन्त्रीहरुलाई हेलिकोप्टरबाट विभिन्न स्थानमा सारिएको सुरक्षा संयन्त्रले जनाएको छ ।
अहिले मन्त्री क्वार्टर, बालुवाटार क्षेत्र तथा अन्य क्षेत्रमा हेलिकोप्टरहरु बाक्लो संख्या उडान र अवतरण भइरहेका छन् । सुरक्षा अंगको समन्वयमा ती हेलिकोप्टरबाट नेताहरुको उद्धार गरी विभिन्न ठाउँमा लगिरहेको दाबी गरिएको छ ।
नेताहरुलाई सुरक्षित स्थानमा सार्न थालिएको सुरक्षा अंगले पुष्टि गरे पनि कहाँ लगिएको हो भन्ने विषय चाहिँ खुलाएका छैनन् ।