काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि अब देश कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ । देशभर जारी जेनजी आन्दोलनको बीचमा नयाँ नेतृत्वको आवश्यकताबारे चर्चा बढ्दै गएको छ। आन्दोलनमा सहभागी युवा र नागरिकहरूले बालेन शाहलाई अन्तरिम व्यवस्थाको नेतृत्व दिनुपर्ने माग उठाएका छन्।
सोमबार र मंगलबार भएका प्रदर्शनमा हजारौं युवाले सडकमा उत्रिएर पुरानो नेतृत्वको पतन र नयाँ नेपालको आवश्यकताबारे स्पष्ट सन्देश दिएका छन्।
प्रदर्शनकारीहरूले भनेका छन् कि बालेन शाह नेतृत्वमा आए संक्रमणकालीन सरकार व्यवस्थापन गर्दै लोकतान्त्रिक निर्वाचनमार्फत नयाँ नेपालको मार्गचित्र तय हुनसक्नेछ ।
विश्लेषकहरूले पनि युवाको बलिदानी र आन्दोलनको संकल्पलाई संस्थागत गर्न तत्काल नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन्। जेनजी आन्दोलनले देखाएको अठोटअनुसार, अबको नेतृत्वमा युवा पुस्ताको सहभागिता हुनुपर्ने आवाज उठिरहेको छ ।