काठमाण्डौ । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर जारी विरोध प्रदर्शनका बीच प्रदर्शनकारीहरूलाई सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न विशेष आह्वान गरेका छन्।
मंगलबार एक वक्तव्यमार्फत उनले आन्दोलनरत युवा र विद्यार्थीहरूको साहस तथा दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको बताए। उनले यो उपलब्धिलाई अझ सशक्त बनाउन संयम र शान्तिपूर्ण ढंगले अघि बढ्नुपर्नेमा जोड दिए।
डा. रुइतले भने, “सार्वजनिक सम्पत्तिमा आगजनी वा क्षति पुर्याउनु गलत हो। यसलाई जोगाउनु हरेक नागरिकको पहिलो दायित्व हो। त्यसैले सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयमित बनौं।”
उनले सबै नागरिकलाई शान्तिपूर्ण ढंगले देश निर्माणमा जुट्न आग्रह गर्दै थपे, “सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।”