काठमाण्डौ । डिल्लीबजारको चारखालमा रहेको कारागार क्षेत्र तनावग्रस्त बनेको छ ।
त्यहाँका कैदीबन्दीले आफूहरुलाई पनि छाड्नुपर्ने माग गर्दै कारागारभित्रै नाराबाजीसहित आगजनी गरेका थिए । उनीहरु तोडफोडमा समेत उत्रिएर अवस्था तनावपूर्ण बनाएपछि नेपाली सेनाको सहयोगमा उनीहरुलाई त्यहाँबाट स्थानान्तरण गर्न खोजिएको थियो ।
सो क्रममा कैदीबन्दीले स्थानान्तरण हुन नमानेपछि घम्साघम्सी भएको थियो । घम्साघम्सीकै बीच अवस्थालाई नियन्त्रणमा लिन नेपाली सेनाले भर्खरै हवाई फायर गरेको छ ।
कैदीबन्दीको आगजनी, आन्दोलन र नेपाली सेनाको हवाई फायरपछि डिल्लीबजार, चारखाल आसपासको जनजीवन त्रस्त बनेको छ । स्थानीय सर्वसाधारण कोही पनि घरबाट बाहिर निस्किएका छैनन् ।