धरान । धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटमा आगजनीका क्रममा लुटपाट गर्न पसेका तीनजनाको शव जलेको अवस्थामा फेला परेको छ। प्रहरीका अनुसार मंगलबार राति तोडफोड र लुटपाटमा संलग्न अराजक समूहका केही व्यक्ति भित्रै अड्किएर ज्यान गुमाएका हुन्।
शुक्रबार बिहान भग्नावशेष सफाइका क्रममा दोस्रो तलामा एउटा शव भेटिएको थियो भने केहीबेरमै थप दुई शव फेला परेका हुन्। सबै शव जलेर नचिनिने अवस्थामा रहेकाले तत्काल पहिचान खुल्न नसकेको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले बताए।
मंगलबार राति भएको तोडफोड र लुटपाटपछि भाटभटेनीमा ठूलो आगो लागेको थियो। सुरक्षाकर्मी र स्थानीयले बिहीबार बेलुकी मात्र आगो नियन्त्रणमा लिएका थिए। प्रहरीले शव पोष्टमार्टमका लागि पठाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।