काठमाण्डौ । विभिन्न ४ वटा लगानीकर्ता संगठनले नवनियुक्त अर्थमन्त्री रामेश्वर खनाललाई बधाई ज्ञापन गरेका छन् । जनरल इन्भेष्टर एशोसियसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले एक संयुक्त विज्ञप्ती जारी गर्दै अर्थमन्त्री खनाललाई बधाई दिएका हुन् ।
‘जेनजी आन्दोलनबाट सिर्जित नवीन राजनीतिक परिवेशमा गठित नेपाल सरकारको अर्थमन्त्री जस्तो गरिमामय एवं रणनीतिक जिम्मेवारीमा यहाँको नियुक्ति भएकोमा हामी पूँजीबजारसँग सम्बन्धित प्रमुख चार लगानीकर्ता संघ÷संगठनहरूको तर्फबाट हार्दिक बधाई ज्ञापन गर्दछौं, विज्ञप्तीमा भनिएको छ, ‘यहाँको बौद्धिक प्रखरता, नीतिगत मामिलामा गहिरो अनुभव र विशेषगरी नेपालको पुँजीबजारप्रति यहाँले राख्नुभएको सुस्पष्ट एवं सकारात्मक दृष्टिकोणले समग्र लगानीकर्ता समुदाय तथा आर्थिक क्षेत्रलाई नै आशावादी बनाएको छ ।’
आम नागरिक र नयाँ पुस्ताको भरोसामा स्थापित सरकारको आर्थिक नीतिको नेतृत्व गर्ने यो अवसर, राष्ट्रको आर्थिक भविष्यलाई नयाँ युगमा प्रवेश गराउने एक महत्वपूर्ण क्षण भएको बताउँदै लगानीकर्ताले अर्थमन्त्री खनालको गहन ज्ञान र विगतका सफल अनुभवले विद्यमान आर्थिक चुनौतीहरूलाई चिर्दै एक सुदृढ र गतिशील अर्थतन्त्र निर्माणको मार्ग प्रशस्त गर्नेमा पूर्ण विश्वस्त रहेको बताएका छन् ।
विज्ञप्तीमा खनालको नेतृत्वदायी कार्यकालमा निम्न विषयहरूले प्राथमिकता पाउनेछन् भन्नेमा विश्वास व्यक्त गरिएको छ ः
(क) अर्थतन्त्रको संरचनात्मक सुधारः लामो समयदेखिको आर्थिक शिथिलता तोड्दै, उत्पादनशील क्षेत्रमा लगानी प्रवर्द्धन गरी अर्थतन्त्रलाई एक नयाँ र दिगो मार्गमा डोर्याउन आवश्यक नीतिगत सुधारहरू हुनेछन् ।
(ख) पूँजीबजारको विकास र सुदृढीकरणः पूँजीबजारमा विद्यमान नीतिगत अस्पष्टता र विसङ्गतिहरूलाई अन्त्य गरी यसलाई थप पारदर्शी, प्रविधिमैत्री र लगानीकर्तामैत्री बनाउन ठोस पहल हुनेछ । साना तथा ठूला सबै लगानीकर्ताको हित संरक्षण गर्दै बजारको दायरा विस्तार र आधुनिकीकरण मार्फत यसलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख संवाहकको रूपमा स्थापित गरिनेछ ।
(ग) युवा आकांक्षा र आर्थिक नीतिः देशको आर्थिक नीति तर्जुमा गर्दा जेनजी पुस्ताले परिकल्पना गरेको न्यायपूर्ण, समावेशी र समृद्ध नेपालको सपनालाई मूर्तरुप दिन विशेष ध्यान दिइनेछ ।
खनालको कुशल एवं दूरदर्शी नेतृत्वमा देशको आर्थिक भविष्य समुज्ज्वल बन्नेमा विश्वास व्यक्त गर्दै आम नागरिकले आर्थिक समृद्धिको सार्थक अनुभूति गर्न पाउनेछन् भन्ने साझा विश्वास व्यक्त गरेका छन् । ‘राष्ट्रिय अर्थतन्त्र र पुँजीबजारको विकासका लागि सरकारसँग हातेमालो गर्न हामी सदैव तत्पर रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं । यस महत्वपूर्ण जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न यहाँलाई थप ऊर्जा र प्रज्ञा मिलोस् भन्ने कामनासहित सफल कार्यकालका लागि शुभकामना,’ विज्ञप्तीमा भनिएको छ ।