काठमाण्डौ । राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले गन्तव्यतर्फ प्रस्थान गरे पनि यातायात बन्दको सूचनाका कारण बीच बाटोमै अलपत्र परेका यात्रुहरुको खानपान र बसोबासको व्यवस्था गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई गरिएको परिपत्रमा असोज २० गते सोमबारसम्म लामो दूरीका यातायात आवागमनमा रोक लगाइएको सूचना जारी हुनुअघि नै गन्तव्यतर्फ प्रस्थान गरेका यात्रुहरु सवारी साधनमै रोकिएका र अलपत्र परेका सूचना आएको भन्दै उनीहरुको खानपान र बसोबसको उचित व्यवस्थापन मिलाउन प्राधिकरणले भनेको हो।
ती यात्रुहरुलाई सम्बन्धित स्थानीय तह, यातायात व्यवसायी एवम् सम्बन्धित जिल्लामा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्था, निजी क्षेत्रसँगको समन्वयमा सुरक्षित स्थानमा राख्दै खानपान, स्वास्थ्योपचार लगायतको आवश्यक बन्दोबस्त गर्न गराउन प्राधिकरणले भनेको छ ।