काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले असोज २० गते सोमबारसम्मको मौसम सम्बन्धी पूर्वानुमानको अपडेट केहीबेरअघि सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार आज(शनिवार) राति कोशी, बागमति र मधेश प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमति प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरु र गण्डकी प्रदेशका तराई र पहाड, लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरुभा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

असोज १९ गते आइतबार(भोलि) दिउँसो कोशी, मधेश, बागमति प्रदेशको पहाडी र तराई भूभागमा थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशका पहाड र तराई, लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
यस्तै, सोमबार पनि कोशी, मधेश र बागमति प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
असोज २० गते सोमबार भने कोशी, बागमति, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली मात्र हुनेछ । सो दिन मध्यम वर्षाको मात्र सम्भावना रहेको महाशाखाको सूचनामा उल्लेख छ । सो दिन राति देशका पहाडी भूभागमा सामान्य वर्षा भए पनि बाँकी भूभागको मौसम सफा रहने बताइएको छ।
