काठमाण्डौ । सुनसरीस्थित कोसी ब्यारेजमा आइतबार बिहान मापन गरिएको पानीको बहाब पछिल्ला वर्षकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। बिहान साढे १०:३० बजे गरिएको मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यो बहाब २०६५ साल साउन ५ गते (सन् 2008) को कोशी बाँध फुट्दाको समयको भन्दा झन्डै दोब्बर बढी हो। त्यस बेला बाँध फुट्दा नदीमा करिब १ लाख ५६ हजार क्युसेक मात्र पानी थियो। अहिले पानीको मात्रा त्यही घटनाको दुई गुणा बढी पुगेपछि नेपाल र भारत दुबै पक्षका निकाय उच्च सतर्कतामा छन्।
सुरक्षा अधिकारीहरूका अनुसार नदीको सतह बढ्दै जाँदा पानी ब्यारेजको पुलसम्म पुगेको छ, जसका कारण ५६ वटै ढोका पूर्ण रूपमा खोलिएका छन्। बढ्दो जोखिमका कारण ब्यारेज क्षेत्रबाट दुवै नहरका पानी आपूर्ति बन्द गरिएको छ भने आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार ब्यारेज क्षेत्रमा सवारीसाधन र पैदल यात्रुहरूको आवागमनमा अस्थायी रोक लगाइएको छ। प्रशासन, सुरक्षाकर्मी, सशस्त्र प्रहरी, सेना र विपद् व्यवस्थापन निकाय सबै सतर्क अवस्थामा छन्।
विभागका अनुसार, माथिल्लो तटीय क्षेत्रहरूमा अझै भारी वर्षा जारी रहेकाले कोशी नदीको जलस्तर केही समय उच्च रहन सक्ने अनुमान गरिएको छ।
सन् 1968 यताका रेकर्डअनुसार यो बहाब सबैभन्दा बढी मापन भएको घटनामध्ये एक हो।
अघिल्लो उच्च बहाब 1987 मा ५ लाख २३ हजार ७७१ क्युसेक मापन गरिएको थियो, तर अहिलेको स्तरले त्यो नजिक पुग्दै कोशी नदीमा अत्यधिक बाढीको जोखिम थप बढाएको विभागले चेतावनी दिएको छ।