काठमाण्डौ । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मौसम विभागका चेतावनीहरूलाई बेवास्ता गर्दा पदयात्रीहरू अनावश्यक जोखिममा परेको बताएका छन्।
उनका अनुसार, ज्योतिषी हरिहर अधिकारीले सामाजिक सञ्जालमार्फत “पानी नपर्ने” भन्दै गरेको दाबीले पदयात्रीहरूमा भ्रम सिर्जना गरेको र त्यसकै परिणामस्वरूप लाङटाङ क्षेत्रमा ज्यान गुमाउने घटना घटेको हो।
“केही ज्योतिषीले पानी पर्दैन भनेर हल्ला फैलाउँदा धेरैले मौसम विभागको सूचनालाई बेवास्ता गरे, जसका कारण पदयात्रीले अनावश्यक रूपमा ज्यान गुमाउनुपर्यो,” मन्त्री घिसिङले भने।
ज्योतिषी अधिकारीले सामाजिक सञ्जालमा पानी नपर्ने भविष्यवाणी गरेपछि आलोचना बढेपछि क्षमायाचना गर्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका थिए। मन्त्री घिसिङले त्यही प्रसंग जोड्दै वैज्ञानिक निकायको चेतावनीभन्दा अफवाहमा विश्वास गर्नु घातक हुने चेतावनी दिएका छन्।