काठमाण्डौ । बाढी र पहिरोका कारण अवरुद्ध कान्ति लोकपथ आजदेखि पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
सडक विभागका महानिर्देशक विजय जैसीका अनुसार आज दिउँसो ४ बजेबाट सडकमा यातायात सुचारु गरिनेछ। उनका भनाइमा, अधिकांश राजमार्ग सञ्चालनयोग्य अवस्थामा पुगेका छन्, तर इलाम र झापाको माइखोलामा भने अझै पनि समस्या कायम छ।
जैसीले बीपी राजमार्गको भकुण्डेबेसी सडक खण्डमा पनि पानीको बहाव घटेपछि चार दिनपछि पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए। उनका अनुसार, विभिन्न स्थानका खोलामा अझै उच्च बहाव रहँदा तत्काल पूर्ण रूपमा सडक खुलाउन कठिनाइ भएको र पहिरो हटाउने काम तीव्र गतिमा भइरहेको छ।
धुलिखेल–भकुण्डेबेसी सडकखण्डमा पनि पहिरोका कारण समस्या निरन्तर रहँदै आएको उनले जानकारी दिए। हाल उक्त खण्डमा एकतर्फी सवारी आवागमन सञ्चालनमा रहेको र पहिरो पन्छाउने कार्य जारी रहेको उनको भनाइ छ।
झापाको चारआलीदेखि माइखोलासम्म सडक सञ्चालनमा आए पनि माइखोलाको क्षेत्रमा ठूला सवारी रोकिएका छन्, भने साना सवारी साधनलाई अनुमति दिइएको छ।
त्यस्तै, इलामतर्फको बाटोमा अझै अवरोध रहेको बताउँदै जैसीले फिदिम–तमोर करिडोर हुँदै धरान–भेडेटार मार्ग भने सुचारु रहेको जानकारी दिएका छन्।