काठमाण्डौ । शुक्रबारदेखि लगातार परेको अविरल वर्षाले देशभरका जलविद्युत् आयोजना ठुलो क्षतिमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार हालसम्म बाढी र पहिरोका कारण १८ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन्। तीमध्ये १३ वटा सञ्चालनमा रहेका आयोजनाबाट उत्पादन पूर्णरूपमा रोकिएको छ भने निर्माणाधीन अवस्थाका पाँच आयोजनामा समेत ठुलो क्षति पुगेको छ।
इप्पानका अनुसार क्षति पुगेका आयोजनामध्ये ११ वटा आयोजना सेयर बजारमा सूचीकृत नौ हाइड्रोपावर कम्पनीले सञ्चालन गर्दै आएका छन्। यी कम्पनीहरू हुन्: हिमाल दोलखा हाइड्रो पावर, सानिमा माइ हाइड्रो, सुपरमाइ हाइड्रो, सगरमाथा जलविद्युत्, माइखोला हाइड्रो, सान्भी इनर्जी, एशियन हाइड्रो, सामलिङ पावर, र पञ्चकन्या माइ।
इप्पानले सार्वजनिक गरेको विवरणअनुसार हिमाल दोलखा हाइड्रो पावरका माइखोला हाइड्रो र माइखोला क्यासकेड, सानिमा माइका माइखोला र माइखोला क्यासकेड, सुपर माइ हाइड्रोको सुपर माइ हाइड्रो, सगरमाथा जलविद्युत्को सुपरमाइ ए, माइ खोला हाइड्रोको सुपरमाइ ए क्यासकेड, सान्भी इनर्जीका जोगमाइ खोला र जोगमाइ क्यासकेड, एशियन हाइड्रोको तल्लो जोगमाइ, सामलिङ पावरको माइबेनी हाइड्रो, र पञ्चकन्या माइको माथिल्लो माइखोला आयोजनामा क्षति पुगेको हो।
यी आयोजनाहरूका सेयर मूल्य हाल रू. १८६ देखि रू. ८८९ को दायरामा कारोबार भइरहेको छ। हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुल ९४ वटा जलविद्युत् कम्पनी सूचीकृत छन्।
यता, इप्पानका अनुसार इलाम, पाँचथर र सिन्धुपाल्चोक जिल्लामा रहेका साना तथा ठूला गरी १८ वटा आयोजना क्षतिग्रस्त भएका छन्। इलाममा मात्र सुपरमाइ, माइखोला, माइखोला क्यासकेड, सुपरमाइ–ए, सुपरमाइ–ए क्यासकेड, जोगमाइ खोला, जोगमाइ क्यासकेड, तल्लो जोगमाइ, माइबेनी, माथिल्लो माई खोला र माइसी क्यासकेड आयोजनाहरू प्रभावित भएका छन्।
त्यसैगरी पाँचथर र सिन्धुपाल्चोकका सभाखोला-बी, हेवाखोला, सिद्धिखोला, ब्रह्मायणी र अपर ब्रह्मायणी हाइड्रोपावर आयोजनामा पनि बाढी र पहिरोले ठुलो क्षति पुर्याएको छ।
यद्यपि ऊर्जामन्त्री कुलमान घिसिङले आइतबार पत्रकार सम्मेलनमा सरकारी विवरण अनुसार केवल दुई जलविद्युत् आयोजना मात्र क्षतिग्रस्त भएको जानकारी दिएका थिए। तर व्यवसायीहरूले सरकारी विवरण वास्तविक अवस्थाभन्दा धेरै फरक भएको भन्दै १३ आयोजना पूर्णरूपमा बन्द रहेको स्पष्ट पारेका छन्।