काठमाण्डौ । चालु आवको पहिलो ३ महिनामा सुनको आयात ह्वात्तै बढेको छ । वाणिज्य बैंकहरुले उक्त अवधिमा ६ सय १ किलो सुन आयात गरेका हुन् । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५ सय प्रतिशतले बढी हो ।
अघिल्लो आवको पहिलो तीन महिनामा सय किलो सुन आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार सरकारले चालु आवमा भएको १० अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको सुन आयातबाट १ अर्ब २ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
यस्तै, तीन महिनाको अवधिमा १ हजार किलो चाँदी आयात भएको छ । जसको मूल्य २० करोड १३ लाख हुँन आउछ । उक्त अवधिमा १ अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८ हजार १ सय ३० किलो चाँदीको धुलो आयात भएको विभागले जनाएको छ ।
गत आर्थिक वर्षको तीन महिनामा १४ करोड ७३ लाख रुपैयाँको सुनका गरगहना आयात भएकोमा चालु आवमा ७ करोड १५ लाख रुपैयाँको सुनका गरगहना आयात भएको छ ।
नेपाल राष्ट्र बैंकले गत असोज २४ गते सुनको आयात कोटा बढाएर २५ किलो पुर्याएको थियो । यसअघि दैनिक २० किलो सुन आयात हुँदै आएको थियो ।

