काठमाण्डौ । रुपन्देहीका चार उद्योगले नेपाल विद्युत प्राधिकरणलाई तिर्न बाँकी प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका छन्। डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत प्रयोग गरेको भन्दै ती उद्योगहरूलाई प्राधिकरणले बक्यौता तिर्न निर्देशन दिएको थियो।
भैरहवा क्षेत्रका पञ्चकन्या प्लाष्टिक, पञ्चकन्या स्टील, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार पहिलो किस्ता बुझाएपछि प्राधिकरणले विच्छेद गरिएको लाइन पुनः जडान गरेको कार्यकारी निर्देशक मनोज सिलवालले बताए।
ती उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिका बक्यौता २८ किस्तामा तिर्ने सम्झौता गरेका छन्। पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुका अनुसार बाध्यात्मक परिस्थितिमा पहिलो किस्ता तिरेपछि दुई उद्योगमा लाइन पुनः जडान गरिएको हो।
साहुले भने, “हामीले तिर्नु भनेको ट्रंक लाइन प्रयोग गरेको स्वीकृति होइन, रोजगारी र उद्योग सञ्चालन निरन्तरता दिन उठाइएको कदम हो।”
उनले विद्युत प्राधिकरणले ट्रंक लाइन प्रयोगको ठोस प्रमाण दिन नसकेको पनि दाबी गरे।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                