काठमाण्डौ । डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् उपभोग गरेबापतको बक्यौता रकम तिर्न लामो समयसम्म आनाकानी गरेका ठूला तथा साना उद्योगहरुले धमाधम उक्त रकम तिर्न लागेका छन् । यही क्रममा हिमाल आइरन एण्ड स्टिल पनि बक्यौता रकम तिर्न तयार भएको छ ।
कम्पनीले शुक्रबारसम्म पहिलो किस्ताको रकम तिर्ने तयारी गरेको हो । कम्पनीले आफ्नो नाममा रहेको तिर्न बाँकी १३ करोड ६५ लाख रुपैयाँमध्ये पहिलो किस्ताको रकम शुक्रबारसम्म तिर्ने भन्दै विद्युत प्राधिकरणलाई पत्र काटेको छ ।
विद्युत प्राधिकरणले लोडसेडिङको समयमा उद्योगहरुलाई विद्युतको सहज आपूर्तिका लागि डेडिकेटेड तथा ट्रंकलाइन उपभोग गर्ने सुविधा उपलब्ध गराएको थियो । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म यस्तो सुविधा उपलब्ध गराएको थियो ।
कम्पनीहरुले २८ किस्तामा बक्यौता रकम बुझाउन सक्नेछन् ।
आज मात्रै रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ताअन्तर्गत २ करोड ७७ लाख रुपैयाँ बक्यौता रकम तिरेको थियो ।

