काठमाण्डौ । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल( अन्तर्गत सञ्चालन हुने दुई वटा सडक आयोजनाका लागि २ करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ।
एमसिए–नेपालले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार एमसिसी नेपाल कम्प्याक्टअन्तर्गतका सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको खण्ड स्तरोन्नतिका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग करिब २ करोड अमेरिकी डलर बराबरको सम्झौता गरिएको हो।
यसैगरी, उक्त सडकखण्डको स्तरोन्नति कार्य तथा नारायणघाट–मुग्लिन सडकखण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इन्टरनेसनल कन्सल्टेन्ट एन्ड टेक्नोक्राट्स प्रालिसँग करिब ३६ दशमलव ६ लाख अमेरिकी डलर बराबरको सम्झौता गरिएको विज्ञप्तिमा उल्लेख छ।
आयोजनाअन्तर्गत पूर्व–पश्चिम राजमार्गको धानखोलादेखि लमहीसम्मको करिब ४० किलोमिटर सडकखण्ड स्तरोन्नति गरी १२ मिटर चौडाइको बनाइनेछ भने नारायणघाट–मुग्लिन सडकखण्डमा आवधिक मर्मत कार्य गरिनेछ।
सम्झौतामा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र शर्मा–कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधिले हस्ताक्षर गरेका थिए।

