काठमाण्डौ । ऊर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हाल्दै आएका मन्त्री कुलमान घिसिङ पदबाट अलग हुने अन्तिम तयारीमा पुगेका छन्।
बुधबार राति करिब ९ बजे सिंहदरबारस्थित मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरी उनले औपचारिक रूपमा राजीनामाको घोषणा गर्ने कार्यक्रम तय भएको छ।
घिसिङका प्रेस संयोजक सचिन गौतमका अनुसार मन्त्रीले पदत्याग गर्ने निर्णय लगभग टुंगोमा पुगिसकेको छ। “आज राति ९ बजे मन्त्रालयमै पत्रकार सम्मेलन बोलाइएको छ,” उनले जानकारी दिए।
राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता भएपछि घिसिङ उपसभापति बनेसँगै मन्त्री पद छोड्नुपर्ने दबाब तीव्र बन्दै आएको थियो। यही पृष्ठभूमिमा उनले बुधबार दिनभर पार्टीका शीर्ष नेताहरू र मन्त्रालयका कर्मचारीहरूसँग आन्तरिक छलफल गरेका थिए।
उज्यालो नेपाल पार्टीभित्रबाट मन्त्री पद नछोड्न सुझाव आए पनि घिसिङ त्यसमा सहमत नभएको स्रोत बताउँछ। बाहिर निरन्तर रूपमा राजीनामाको चर्चा र दबाब बढेपछि अब मन्त्रीको जिम्मेवारीमा नबस्ने निष्कर्षमा उनी पुगेका हुन्।

