काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत माघ ६ गते लायन्स क्लब अफ काठमाण्डौ नमस्तेसँगको सहकार्यमा तादी गाउँपालिका–५, अत्मारा, नुवाकोटस्थित ह्ेमवतेश्वर वेद विद्याश्रम (गुरुकुल) मा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो लुगा तथा खाद्यान्न सामग्री वितरण गरेको छ ।
त्यसैगरी, माघ ७ गते बूढानीलकण्ठ नगरपालिका–४, पासीकोट, काठमाण्डौस्थित श्रीराम आधारभूत विद्यालयलाई तीन थान कम्प्युटर सेट प्रदान गरिएको छ । यसका साथै दुवै विद्यालयहरुमा विद्यार्थी, शिक्षक तथा विद्यालयका कर्मचारीहरूका लागि वित्तीय साक्षरता/सचेतना कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको यस सहयोगले विद्यार्थीहरूको पठन–पाठनमा सहजता ल्याउनुका साथै उनीहरूको दैनिक आवश्यकताको परिपूर्तिमा महत्वपूर्ण टेवा पुग्ने र विद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धिमा दीर्घकालीन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।
साथै, कम्प्युटर वितरण कार्यक्रमले विद्यार्थीहरूको सूचना प्रविधिसम्बन्धी ज्ञान, डिजिटल सिप तथा व्यवहारिक क्षमता विकासमा समेत उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर रजिष्ट्रेशन, निक्षेप सदस्य तथा सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।