काठमाण्डौ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमध्ये दक्ष श्रमिकको अनुपात घट्दै गएको तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा वैदेशिक रोजगारीमा जाने श्रमिकमध्ये दक्ष श्रमिकको संख्या अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम भएको छ ।
विभागको तथ्याङ्कअनुसार चालु आवको पहिलो छ महिनामा ४ लाख २ हजार ७४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । तीमध्ये २ लाख ५० हजार जना (६४ प्रतिशत) दक्ष श्रमिक रहेका छन् । जबकि गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा चार लाख ६५ हजार ५०७ जनाले श्रम स्वीकृति लिएकामा तीन लाख ३५ हजार ७५८ जना (७२ प्रतिशत) दक्ष श्रमिक थिए ।
यस्तै, अर्धदक्ष श्रमिकको सङ्ख्या भने झण्डै स्थिर देखिएको छ । गत आवको सो अवधिमा ५९ हजार १२१ जना अर्धदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकोमा चालु आवको सोही अवधिमा ५९ हजार ६२४ जना अर्धदक्ष श्रमिक गएका छन् ।
तर अदक्ष श्रमिकको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ । गत आवको पहिलो छ महिनामा ५९ हजार ५२४ जना अदक्ष श्रमिक वैदेशिक रोजगारीमा गएकोमा चालु आवको सो अवधिमा यो सङ्ख्या बढेर ९३ हजार ५५० जना पुगेको छ ।
उच्च दक्ष श्रमिकतर्फ हेर्दा भने सामान्य वृद्धि देखिएको छ । इन्जिनियर, बैङ्कर, नर्स, चिकित्सकलगायत उच्च दक्ष कामदार गत आवको सो अवधिमा एक हजार ९३८ जना रहेका थिए भने चालु आवको पहिलो छ महिनामा २ हजार ४७८ जनाले श्रम स्वीकृति लिएका छन् ।

