काठमाण्डौ । माईखोला हाईड्रोपावर लिमिटेडको आम्दानी आएको गिरावटका कारण कम्पनी घाटामा गएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६३ लाख ५२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भन कम्पनीले ५६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी ४५.७८ प्रतिशतले घटेर १ करोड ९७ लाखमा सीमित बनेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने विद्युत बिक्रीबाट करोड ६३ लाख आर्जन गरेको थियो ।
यद्यपी कम्पनी खर्च नियन्त्रणको मामिलामा भने केही सफल देखिएको छ । अघिल्लो आवमा २९ लाख १२ हजार रुपैयाँ रहेको कम्पनीको प्रशासनिक खर्च घटेर १८ लाख ६७ हजार र वित्त खर्च १ करोड ३० लाखबाट घटेर १ करोड १७ लाख र हा्रसकट्टी खर्च पनि १ करोड ५३ हजारबाट घटेर ९८ लाख ८६ हजारमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी ३९ करोड २१ लाख र रिटेन्ड अर्निङ २५ लाख ७८ हजार रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ३.२४ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ९९.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८२.९७ रुपैयाँ, तरलता अनुपात १.११ प्रतिशत र मूल्य आम्दानी अनुपात २४७.३७ गुणा ऋणात्मक कायम भएका छ ।

