काठमाण्डौ । मध्यपूर्वी क्षेत्रमा हाल सिर्जना भएको तनावबीच युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारले आफ्ना देशमा रहेका नेपाली नागरिकका लागि विशेष भिसा राहतको व्यवस्था गरेको छ।
यूएईस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै भिसाको म्याद सकिए पनि (ओभरस्टे) यूएईमै बस्नु परेका नेपालीहरूलाई अतिरिक्त जरिवाना नलाग्ने जनाएको छ। दूतावासले यसबारे संयमता अपनाउन र आफ्नो अवस्था अनलाइन पोर्टलमार्फत जानकारी दिन अनुरोध गरेको छ। यसका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन पोर्टलमार्फत जानकारी दिन सकिने जनाएको छ।
त्यसैगरी, कतार सरकारले पनि सबै श्रेणीका प्रवेश भिसा एक महिनाका लागि स्वतः नवीकरण गर्ने निर्णय गरेको छ। कतारको आन्तरिक मन्त्रालयका अनुसार म्याद सकिएका वा सकिन लागेका भिसाहरू २८ फेब्रुअरीदेखि लागू हुने गरी विद्युतीय प्रणालीमार्फत स्वचालित रूपमा नवीकरण हुनेछ। यसका लागि सम्बन्धित व्यक्तिले कुनै शुल्क तिर्नु नपर्ने र कार्यालय धाउनुपर्ने आवश्यक नभएको स्पष्ट गरिएको छ। तर, २८ फेब्रुअरीअघि ओभरस्टे गरेका व्यक्तिहरूले तोकिएको जरिवाना तिरेपछि मात्र सुविधा पाउने व्यवस्था छ।

मध्यपूर्वमा इजरायल–अमेरिकाको हवाई आक्रमणपछि इरानले प्रतिआक्रमण गर्दै आएका घटनाले सुरक्षा चुनौती थपिएको छ। यसैबीच, शनिबार यूएईको आबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्दा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ, जो मिडल इस्ट कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए, मृत्यु भएका थिए।
यूएई र कतार दुवै देशका सम्बन्धित निकायहरूले सर्वसाधारणलाई घरभित्रै बस्न, अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कन, खुला स्थान र झ्यालबाट टाढा रहन, र आधिकारिक निर्देशन पालना गर्न अनुरोध गरेका छन्।
भिसा सम्बन्धी थप जानकारीका लागि नेपाली नागरिकले दुवै देशका आधिकारिक सामाजिक सञ्जाल तथा वेबसाइटमार्फत सूचना लिन सक्नेछन्।

