शनिबार, बैशाख ५,२०८३ 10:44:17
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 10:44:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२० वर्षे युद्धको भारी मूल्य: २००१ यता अमेरिकाले कति देशमा बमबारी गर्‍यो र कति खर्च भयो ?

Bizshala
२० वर्षे युद्धको भारी मूल्य: २००१ यता अमेरिकाले कति देशमा बमबारी गर्‍यो र कति खर्च भयो ?
Shivam Cement

काठमाण्डौ । अमेरिकाले सन् २००१ पछि विश्वका कम्तीमा १० देशमा बमबारी तथा सैन्य कारबाही गरेको र यसमा करिब ८ ट्रिलियन अमेरिकी डलर खर्च हुने अनुमान सार्वजनिक भएको छ। अलजजिराले प्रकाशित विश्लेषण अनुसार दुई दशकभन्दा बढी समयदेखि अमेरिकी विदेश नीति सैन्य हस्तक्षेपमुखी बन्दै गएको देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महँगा विदेशी युद्ध अन्त्य गर्ने वाचा गरे पनि इजरायलसँग मिलेर इरानमाथि ठूलो सैन्य आक्रमण सुरु गरेपछि पुरानै रणनीति दोहोरिएको विश्लेषणमा उल्लेख छ। यसअघि पनि विभिन्न राष्ट्रपतिहरूले अमेरिकी रणनीतिक स्वार्थका लागि सैन्य शक्ति प्रयोग गर्दै आएको तथ्य औंल्याइएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

‘वार अन टेरर’ पछि फैलिएको सैन्य हस्तक्षेप

सेप्टेम्बर ११, २००१ का हमलापछि तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुशले घोषणा गरेको “वार अन टेरर” ले अमेरिकी विदेश नीतिको दिशा नै बदलिदियो। त्यसपछि अमेरिका तीनवटा पूर्ण युद्धमा संलग्न भयो भने ड्रोन आक्रमणदेखि प्रत्यक्ष आक्रमणसम्मका कारबाहीमार्फत कम्तीमा १० देशमा बमबारी गरिएको बताइएको छ।

ब्राउन विश्वविद्यालयको वाटसन इन्स्टिच्युटको अध्ययन अनुसार २००१ यताका अमेरिकी नेतृत्वका युद्धबाट अफगानिस्तान, पाकिस्तान, इराक, सिरिया, यमन लगायत क्षेत्रमा करिब ९ लाख ४० हजार मानिसको प्रत्यक्ष मृत्यु भएको छ। खाद्य अभाव, स्वास्थ्य सेवा अभाव वा युद्धजन्य रोगका कारण भएका अप्रत्यक्ष मृत्यु यसमा समावेश छैनन्।

खर्च ८ ट्रिलियन डलरसम्म पुग्ने अनुमान

अध्ययनले अमेरिकाले हालसम्म करिब ५.८ ट्रिलियन डलर खर्च गरिसकेको जनाएको छ। यसमा रक्षा विभागको २.१ ट्रिलियन, होमल्याण्ड सेक्युरिटीको १.१ ट्रिलियन, रक्षा बजेट वृद्धि ८८४ अर्ब, पूर्वसैनिक उपचारमा ४६५ अर्ब र युद्धका लागि लिइएका ऋणको ब्याजमा करिब १ ट्रिलियन डलर समावेश छ।

आगामी ३० वर्षमा पूर्वसैनिकको स्वास्थ्य सेवामा थप २.२ ट्रिलियन डलर खर्च हुन सक्ने अनुमान गरिएको छ। यसरी २००१ पछिका अमेरिकी युद्धहरूको कुल लागत करिब ८ ट्रिलियन डलरसम्म पुग्ने देखिन्छ।

CG Motors
Garima Development Bank
IME remit

अफगानिस्तान: सबैभन्दा लामो युद्ध

९/११ को प्रत्यक्ष प्रतिक्रियास्वरूप अमेरिकाले ७ अक्टोबर २००१ मा अफगानिस्तानमा ‘अपरेशन एन्ड्युरिङ फ्रिडम’ सुरु गरेको थियो। प्रारम्भिक चरणमा तालिबान सरकार केही हप्तामै ढल्यो तर विद्रोही समूहहरूको प्रतिरोध लामो समयसम्म जारी रह्यो।

यो युद्ध २० वर्षसम्म चार राष्ट्रपतिको कार्यकाल पार गर्दै अमेरिकाको इतिहासकै सबैभन्दा लामो युद्ध बन्यो। सन् २०२१ मा अमेरिकी फौज फिर्ता भएपछि तालिबान पुनः सत्तामा फर्कियो।

ब्राउन विश्वविद्यालयको ‘कस्ट अफ वार’ परियोजना अनुसार यस युद्धबाट प्रत्यक्ष रूपमा करिब २ लाख ४१ हजार मानिस मारिएका थिए। युद्धको लागत अमेरिकाका लागि करिब २.२६ ट्रिलियन डलर पुगेको अनुमान छ।

इराक युद्ध र विवादित दाबी

२० मार्च २००३ मा बुश प्रशासनले इराकका राष्ट्रपति सद्दाम हुसेनसँग व्यापक विनाशका हतियार (WMD) रहेको दाबी गर्दै दोस्रो ठूलो युद्ध सुरु गर्‍यो। पछि उक्त दाबी गलत सावित भयो।

मे १, २००३ मा ‘मिसन अकम्प्लिस्ड’ घोषणा गरिए पनि त्यसपछि इराकमा हिंसा, शक्ति शून्यता र आईएसआईएल (ISIS) को उदयले स्थिति झन् जटिल बनायो। अन्ततः २०११ मा अमेरिकी लडाकु सेना फिर्ता गरियो।

ड्रोन युद्धको विस्तार

औपचारिक युद्ध घोषणा नगरे पनि अमेरिकाले पाकिस्तान, सोमालिया र यमनमा ड्रोन तथा हवाई आक्रमण तीव्र बनायो। सन् २००० को मध्यदेखि सीआईएले पाकिस्तान–अफगान सीमावर्ती क्षेत्रमा अलकायदा र तालिबान लक्षित ड्रोन आक्रमण सुरु गरेको थियो, जसलाई पछि राष्ट्रपति बराक ओबामाले उल्लेख्य रूपमा विस्तार गरे।

यसैबीच सोमालियामा अल–शबाबसँग जोडिएका समूहहरू र यमनमा अलकायदाविरुद्ध अमेरिकी मिसाइल तथा ड्रोन आक्रमण जारी रह्यो।

लिबिया र सिरियामा हस्तक्षेप

सन् २०११ मा लिबियाली नेता मुअम्मर गद्दाफीविरुद्धको विद्रोहका बेला अमेरिका नाटो नेतृत्वको हस्तक्षेपमा सहभागी भयो। नो–फ्लाइ जोन लागू गर्न अमेरिकी हवाई र मिसाइल आक्रमण गरियो। गद्दाफी मारिएपछि लिबिया दीर्घकालीन अस्थिरतामा फस्यो।

सन् २०१४ पछि अमेरिका सिरियाली युद्धमा आईएसआईएललाई परास्त गर्ने लक्ष्यसहित प्रवेश गर्‍यो। इराकमा सुरु गरिएको अभियानलाई विस्तार गर्दै सिरियामा निरन्तर हवाई आक्रमण र स्थानीय बललाई समर्थन दिइयो। इराकमा पनि अमेरिकी सेना आईएसआईएलका अवशेषविरुद्ध सक्रिय रह्यो र सन् २०२० मा ट्रम्पको आदेशमा इरानी जनरल कासिम सुलेमानी मारिएका थिए।

दुई दशकभन्दा बढी समयदेखि जारी अमेरिकी सैन्य हस्तक्षेपले मानविय क्षति मात्र होइन, अभूतपूर्व आर्थिक बोझ पनि सिर्जना गरेको विश्लेषणले देखाएको छ। अमेरिकी प्रशासनहरू बदलिँदा रणनीतिक भाषा फेरिए पनि सैन्य शक्ति प्रयोग गर्ने प्रवृत्ति भने निरन्तर कायम रहेको टिप्पणी गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.