काठमाण्डौ । विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजार चीनमा २०२६ को पहिलो त्रैमासिकमा समग्र स्मार्टफोन ढुवानी ४ प्रतिशतले घटेको छ। मेमोरी चिपको मूल्य वृद्धि र आपूर्ति शृंखलामा आएको दबाबका कारण लागत बढेपछि बजारमा गिरावट देखिएको हो।
तर यही समयमा एप्पलको आईफोन ढुवानी भने उल्लेखनीय रूपमा २० प्रतिशतले बढेको छ, जुन प्रमुख स्मार्टफोन ब्रान्डहरू मध्ये सबैभन्दा उच्च वृद्धि हो। काउन्टरप्वइन्ट रिसर्चको तथ्याङ्कअनुसार, यस अवधिमा एप्पल चीनको दोस्रो ठूलो स्मार्टफोन ब्रान्ड बनेको छ, जसको बजार हिस्सा करिब १९ प्रतिशत पुगेको छ।
यसैबीच, चिनियाँ प्रविधि कम्पनी हुवावेले पनि २ प्रतिशत वृद्धि हासिल गर्दै बजार नेतृत्व कायम राखेको छ। कम्पनीको बजार हिस्सा करिब २० प्रतिशत रहेको बताइएको छ। हुवावेले उच्चस्तर र बजेट दुवै खण्डमा बलियो मागका कारण वृद्धि कायम राखेको विश्लेषकहरूको भनाइ छ।
अन्य प्रमुख ब्रान्डहरूमा भने गिरावट देखिएको छ। शाओमीको ढुवानी करिब ३५ प्रतिशतले घटेको छ, जसको मुख्य कारण गत वर्षको उच्च आधार प्रभाव र आक्रामक मूल्य कटौती रहेको विश्लेषण गरिएको छ। ओप्पोको ढुवानी ५ प्रतिशत र अनरको ३ प्रतिशतले घटेको छ। तर भिभोको बिक्री भने २ प्रतिशतले वृद्धि भएको छ, जसमा लुनार न्यू इयर (चिनियाँ नयाँ वर्ष) को मागले सहयोग गरेको हो।
विश्लेषकहरूका अनुसार मेमोरी चिपको लागत बढेसँगै चिनियाँ स्मार्टफोन निर्माताहरूले बजेट फोनहरूको मूल्य बढाइरहेका छन्, जसले बजारमा थप दबाब सिर्जना गर्न सक्छ। आगामी त्रैमासिकमा पनि बजार चुनौतीपूर्ण रहने अनुमान गरिएको छ, यद्यपि एप्पल र हुवावे तुलनात्मक रूपमा बलियो रहने अपेक्षा गरिएको छ।

