काठमाडौं । फौजदारी अपराधको अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना तथा विवरणहरू अनधिकृत रूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चुहावट भइरहेको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरी महानिरीक्षकको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, यस्ता संवेदनशील विवरण बाहिरिँदा शंकित व्यक्तिहरूको वैयक्तिक गोपनीयतामा असर पर्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता, संवेदनशीलता र नेपाल प्रहरीको सांगठनिक गरिमामा समेत आँच पुगेको छ।
गम्भीर कसूर र कानुनी कारबाहीको चेतावनी प्रहरी प्रधान कार्यालयले अनुसन्धानका क्रममा संकलन गरिएका गोप्य सूचना, लिखत, प्रमाण तथा विद्युतीय अभिलेखहरू सम्बन्धित निकायको स्वीकृति बिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउनु, सार्वजनिक गर्नु वा चुहावट गर्नु प्रचलित कानुन र प्रहरी आचरण विपरीतको गम्भीर कसूर भएको स्पष्ट पारेको छ।
यस्ता गतिविधिमा संलग्न हुने व्यक्तिहरू उपर निम्नलिखित कानुनी व्यवस्थाबमोजिम विभागीय तथा कानुनी कारबाही हुन सक्ने चेतावनी दिइएको छ:
प्रहरी नियमावली, २०७१: नियम ७१ (आचरण सम्बन्धी व्यवस्था) उल्लङ्घनको कसूरमा नियम १०९ र ११३ बमोजिम कारबाही।
मुलुकी अपराध संहिता, २०७४: दफा १२(३), (४) र (५) बमोजिम गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यस्ता कार्यमा दुरुत्साहन सम्बन्धी कानुनी कारबाही।
पूर्व र बहालवाला प्रहरीलाई कडा निर्देशन केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल प्रहरीमा कार्यरत तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेखहरू अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन, सार्वजनिक नगर्न र त्यस्ता कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन/नगराउन निर्देशित गरिएको छ।
साथै, प्रहरी कर्मचारीहरूलाई आफ्नो पदीय मर्यादा, व्यावसायिक आचरण, अनुशासन र सांगठनिक जिम्मेवारीप्रति सदैव सचेत रहन आग्रह गर्दै यदि कुनै पूर्व वा बहालवाला प्रहरी कर्मचारी यस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेको वा त्यस्ता कार्यलाई प्रोत्साहन, सहयोग वा सहजीकरण गरेको पाइएमा आवश्यक छानबिन गरी कडा कारबाही गरिने प्रधान कार्यालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।