काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी ओपनएआईले आफ्ना व्यापारिक गोप्य सूचना चोरी गरेको आरोप लगाउँदै एप्पलविरुद्ध प्रतिदाबी मुद्दा दायर गरेको छ।
क्यालिफोर्नियामा शुक्रबार दायर मुद्दामा ओपनएआईले एप्पलले आफ्ना पूर्वकर्मचारीलाई पुनः नियुक्त गरी नयाँ उपकरण तथा भविष्यका उत्पादन योजनासम्बन्धी गोप्य सूचना प्राप्त गरेको आरोप लगाएको छ। ती कर्मचारीले ओपनएआईमा काम गर्दा दर्जनौँ आन्तरिक दस्तावेज व्यक्तिगत फोन नम्बरमा पठाएको र एप्पलका वरिष्ठ अधिकारीलाई कम्पनीको भावी योजनाबारे जानकारी दिएको ओपनएआईको दाबी छ।
ओपनएआईले एप्पलले आफ्ना भविष्यका उपकरणका लागि हार्डवेयर आपूर्तिकर्ताहरूलाई सहकार्य नगर्न दबाब दिएको आरोपसमेत लगाएको छ। एआईमा आधारित व्यक्तिगत उपकरण विकास गरिरहेको ओपनएआईले आफ्ना उत्पादनले एप्पललाई उसकै बजारमा चुनौती दिन सक्ने जनाएको छ।
यसअघि एप्पलले गत जुलाईमा ओपनएआई र उसका दुई पूर्वएप्पल कर्मचारीविरुद्ध गोप्य सूचना चोरी गरेको आरोपमा मुद्दा दायर गरेको थियो। ती कर्मचारीले एप्पलका आन्तरिक दस्तावेज आफूलाई इमेल गरेको कम्पनीको दाबी छ।
एप्पलले ओपनएआईको प्रतिदाबीलाई आफ्नै मुद्दाको विषयवस्तुबाट ध्यान मोड्ने प्रयास भन्दै आरोप अस्वीकार गरेको छ। कम्पनीका अनुसार, ओपनएआईका कर्मचारीले एप्पलका सार्वजनिक नभएका प्रविधि, प्रक्रिया र उत्पादनसम्बन्धी गोप्य सूचना जानाजानी प्राप्त गरी प्रयोग गरेका थिए।
यस मुद्दामा एप्पलले ओपनएआईसँगै उसका दुई पूर्वकर्मचारी र डिजाइन कम्पनी आईओ प्रोडक्ट्सविरुद्ध पनि कानुनी कारबाही अघि बढाएको छ। आईओ प्रोडक्ट्स एप्पलका पूर्वप्रमुख डिजाइनर सर जोनी आइभले स्थापना गरेका हुन्। ओपनएआईले गत वर्ष उक्त कम्पनी ६ अर्ब ५० करोड अमेरिकी डलरमा अधिग्रहण गरेको थियो।
ओपनएआईले भने अन्य कम्पनीका व्यापारिक गोप्य सूचना प्राप्त गर्ने आफ्नो कुनै रुचि नरहेको यसअघि नै स्पष्ट पारिसकेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।