काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुनको मूल्य ८५.३३ अमेरिकी डलर अर्थात् २.३९ प्रतिशतले बढेको हो।
योसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ३ हजार ६५३.९७ अमेरिकी डलर पुगेको छ।
कारोबारको सुरुवाती समयमा सुनको मूल्य ३ प्रतिशतसम्म बढेको थियो। यसै साता १५ महिनायताकै न्यून विन्दुमा झरेपछि सस्तो मूल्यमा सुन खरिद गर्ने लगानीकर्ताको सक्रियताले बजारमा सुधार आएको हो।
अमेरिकी डलर २२ महिनायताकै उच्च स्तरनजिक कायम रहनु, अमेरिकी सरकारी ऋणपत्रको प्रतिफल बढ्नु र अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ)ले ब्याजदर थप बढाउन सक्ने संकेतले सुनको मूल्यमा दबाब परेको छ। यस महिनाको सुरुवातमा सार्वजनिक अपेक्षाभन्दा बढी अमेरिकी मुद्रास्फीतिको तथ्यांकले आगामी महिना र सन् २०२७ को सुरुवातमा समेत ब्याजदर वृद्धि हुने अपेक्षा बलियो बनाएको छ।
ब्याजदर बढ्दा प्रतिफल नदिने सुनप्रतिको आकर्षण घट्ने भएकाले लगानीकर्ता सतर्क देखिएका छन्। यद्यपि, एसियाली बजारमा भौतिक सुनको माग भने बढेको छ। भारतमा गरगहना तथा लगानीका लागि सुन खरिद बढेको छ भने चीनमा खुद्रा खरिद बलियो हुँदा स्थानीय बजारमा सुनको प्रिमियम उच्च स्तरमा कायम रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।