काठमाण्डौ । खाडी क्षेत्रमा बढ्दो युद्ध तनावको असर नेपालमा पनि देखिन थालेको छ। नेपाल आयल निगम (NOC) ले पेट्रोल र डिजेलको मूल्य एकैपटक बढाएको छ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएपछि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ।
यसअघि पेट्रोलको मूल्य तेस्रो वर्गका लागि प्रतिलिटर अधिकतम १५७ रुपैयाँ थियो। पहिलो वर्गमा १५४.५० रुपैयाँ र दोस्रो वर्गमा १५६ रुपैयाँ प्रतिलिटर मूल्य तोकिएको थियो।
नयाँ समायोजनपछि तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ। त्यसैगरी पहिलो वर्गमा १६९.५० रुपैयाँ र दोस्रो वर्गमा १७१ रुपैयाँ प्रतिलिटर पुगेको छ।
यस्तै, यसअघि डिजेल तथा मट्टितेलको मूल्य पहिलो वर्गमा १३९.५० रुपैयाँ, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ प्रतिलिटर थियो। मूल्य वृद्धि भएपछि पहिलो वर्गमा १४९.५० रुपैयाँ, दोस्रो वर्गमा १५१ रुपैयाँ र तेस्रो वर्गमा १५२ रुपैयाँ प्रतिलिटर पुगेको छ।
खाडी क्षेत्रमा बढेको युद्ध तनाव, तेल आपूर्ति मार्गमा देखिएको अनिश्चितता तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको निगमले जनाएको छ।
इन्धनको मूल्य बढेसँगै यातायात भाडा, उद्योग सञ्चालन लागत र दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत दबाब बढ्ने सम्भावना रहेको छ। विशेषज्ञहरूले यसले महँगी अझ बढाउन सक्ने बताएका छन्।

