काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले करिब पौने ३२ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीले चालु आवको ८ महिनासम्ममा ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बराबरको प्रिमियम कलेक्सन गरेका हुन् ।
यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.११ प्रतिशत बढी हो । गत आवको फागुन मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए ।
सो अवधिसम्म आइपुग्दा सरकारी स्वामित्वको राष्ट्रिय बीम कम्पनीबाहेक सबैको व्यवसायमा उल्लेख्य वृद्धि देखिएको छ ।
फागुन मसान्तसम्म सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । यो बीमाशुल्क गत आवको सोही अवधिसम्मको तुलनामा ९.२५ प्रतिशत बढी हो ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३६ करोड, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड, आइजीआई प्रुडेन्सियलले २ अर्ब ६८ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड र युनाइटेड अजोडले १ अर्ब ९६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

यसका साथै दि ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ९४ करोड, सानिमा जिआइसीले १ अर्ब ७८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड र नेशनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैयाँ प्रिमियम सकलन गरेका छन् ।
गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्नेमा भने हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । यो कम्पनीले ४५.१५ प्रतिशतले व्यवसाय ग्रोथ गरेको छ ।

