काठमाण्डौ । आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । घोडे जात्राको अवसरमा आज सरकारले काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा आज काठमाण्डौ उपत्यकामा रहेको सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।
घोडे जात्राको अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा विशेष समारोहको आयोजना गर्नेछ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्षलगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने उक्त समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्नेछन् ।
गुरुमापा भन्ने राक्षसले काठमाण्डौ सहरका बालबालिकालाई दुःख दिने गरेको स्थानीयको गुनासोपछि घोडाको टापले राक्षसको आत्मा दबाउने प्रयास स्वरुप घोडे जात्राको प्रचलन सुरु भएको किंवदन्ती रहेको छ ।