काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कदमप्रति आपत्ति जनाएको छ। घटनाको करिब १२ घण्टापछि कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै सरकार कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा “सेलेक्टिभ” भएको आरोप लगाएको हो।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा एउटै प्रकृतिका घटनामा संलग्न भनिएका सबै पक्षमाथि समान रूपमा कारबाही अघि नबढाई केवल केही व्यक्तिलाई मात्र पक्राउ गरिएकोप्रति गम्भीर प्रश्न उठाइएको छ। विशेषगरी सुरक्षाकर्मीको भूमिकाबारे तत्काल कदम नचालिएको अवस्थामा पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई हतारमा पक्राउ गर्नुले सरकारको नियतमाथि शंका उत्पन्न गरेको कांग्रेसको ठहर छ।
विज्ञप्तिमा २०८२ भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न गठित गौरिबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन निष्पक्ष रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिइएको छ। कांग्रेसले उक्त प्रतिवेदन सार्वजनिक गर्न, दोषी पहिचान गरी कानुनअनुसार कारबाही गर्न र पीडितलाई न्याय दिन सरकारसँग माग दोहोर्याएको छ।
कांग्रेसले आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा “ड्यु प्रोसेस अफ ल” (कानुनी प्रक्रिया) पालना हुनुपर्ने उल्लेख गर्दै सरकारको हालको कदम कानुनी शासनको मर्मविपरीत देखिएको पनि जनाएको छ। एउटै घटनामा फरक–फरक मापदण्ड अपनाउनु न्यायको सिद्धान्तविरुद्ध हुने भन्दै कांग्रेसले सरकारलाई निष्पक्ष र पारदर्शी ढंगले अघि बढ्न चेतावनी दिएको छ।
यसैगरी, विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनामा संलग्न सबै व्यक्ति तथा निकायमाथि समान रूपमा अनुसन्धान र कारबाही हुनुपर्ने स्पष्ट पारिएको छ। “हतार र आवेगमा गरिएको निर्णयले कानुनी शासन कमजोर बनाउँछ र देशलाई अस्थिरतातर्फ धकेल्न सक्छ,” भन्दै कांग्रेसले सरकारलाई संयमित र जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेको छ।
कांग्रेसको यो धारणा सार्वजनिक भएसँगै ओली–लेखक पक्राउ प्रकरणमा राजनीतिक बहस थप चर्किने संकेत देखिएको छ।
विज्ञप्ति यस्तो छः



