काठमाण्डौ । बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडको आइपीओ भर्ने आज (चैत १५) गते अन्तिम दिन रहेको छ । चैत १गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीमो निष्कासन गरेकोमा स्थानीय बासिन्दाहरुले आजसम्म मात्रै आवेदन दिन सक्नेछन् । छ ।
कम्पनीले गत माघ २९ गते नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।
सो मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात १० करोड ४० लाख रुपैयाँको रु.१०० अंकित दरका १० लाख ४० हजार कित्ता साधारण सेयर मध्ये आयोजनाको अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं २, ३ र ४ का स्थायी बासिन्दाहरुलाई ५ लाख २० हजार कित्ता (५० प्रतिशत)सेयर, आयोजनाको प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हाल सोलुदुधकुण्ड नगरपालिका वडा नं. ५, ६, ७ र ११ का स्थायी बासिन्दाहरुलाई ३ लाख १२ हजार कित्ता (३० प्रतिशत)सेयर र उक्त आयोजनाको न्यून प्रभावित क्षेत्र अर्थात् आयोजनाको अति प्रभावित र प्रभावित क्षेत्र बाहेकको सोलुखुम्बु जिल्लाका अन्य क्षेत्रहरुका स्थायी बासिन्दाहरुका लागि बाँकी २ लाख ८ हजार कित्ता (२० प्रतिशत)सेयर निष्कासन गरी बिक्री वितरण गरिने छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले एनएमबी बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको सोलुखुम्बुस्थित सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा र प्राइम कमर्सियल बैंकको सोलुखुम्बुस्थित नेचा सल्यान शाखाबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका र आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि सेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

