काठमाण्डौ । गृहमन्त्रीको निर्देशनपछि राजधानीमा सुरक्षा निकायको सक्रियता एकाएक तीव्र बनेको छ। यही सक्रियताको परिणामस्वरूप प्रहरीले शुक्रबार राति काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा व्यापक ‘सर्च अपरेशन’ सञ्चालन गर्दै गुण्डागर्दीदेखि बिचौलिया र ठगीमा संलग्नहरूलाई धमाधम नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर चलेको अपरेशनमा कुल १९५ जनालाई पक्राउ गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ, कलंकी लगायतका ‘हटस्पट’ क्षेत्रमा केन्द्रित भएर गरिएको कारबाहीमा लामो समयदेखि आपराधिक गतिविधिमा संलग्न समूहहरूलाई लक्षित गरिएको प्रहरीले जनाएको छ।
विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा यात्रु तानातान गर्ने, होटल र ट्याक्सीको नाममा अवैध दलाली गर्ने १८ जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा ट्याक्सी चालकदेखि होटल प्रतिनिधिसम्म रहेका छन्, जसले यात्रुलाई जबर्जस्ती तान्ने, ठगी गर्ने जस्ता गतिविधि गर्दै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
यस्तै, अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गुण्डागर्दीमा सक्रिय १८ जनालाई छुट्टै अपरेशनमार्फत पक्राउ गरेको छ। तीमध्ये १३ जनालाई अपराध अनुसन्धान कार्यालयले र ५ जनालाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरू विभिन्न जिल्लाबाट आएर राजधानीका बौद्ध, कलंकी, स्यूचाटार लगायत क्षेत्रमा ग्याङ बनाएर लुटपाट, धम्की र असामाजिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार यो अपरेशन ‘एकदिने कारबाही’ मात्र नभई निरन्तर अघि बढ्ने रणनीतिअन्तर्गतको सुरुवात हो। राजधानीमा बढ्दो असुरक्षा, दलाली र गुण्डागर्दी नियन्त्रण गर्न गृह प्रशासनले कडाइका साथ अभियान थालेको संकेतका रूपमा यसलाई हेरिएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, आगामी दिनमा यस्ता अपरेशन अझ व्यापक बनाइने तयारी रहेको सुरक्षा स्रोतले बताएको छ।

