काठमाण्डौ । संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभा को बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ भने राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे बस्नेछ।
संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठकमा तीन वटा महत्वपूर्ण अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ। गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
उता, राष्ट्रियसभा को बैठक सिंहदरबार मा बस्नेछ। उक्त बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारी लाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यसैगरी, बैठकमा बालेन्द्र शाह ले राष्ट्रिय मानवअधिकार आयोग को आर्थिक वर्ष २०८०/८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ।

