काठमाण्डौ । सेयरबजारमा आज ४८.७१ अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.७३ प्रतिशतले बढेर २८५१.२४ विन्दुमा उक्लिएको छ ।
नेप्सेमा सूचीकृत ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा अन्य समुह रहेको छ । यो समूह ३.४३ प्रतिशतले बृद्धि भएको छ ।
त्यस्तै, बैंकिङ समूह १.२४ प्रतिशशत, विकास बैंक समूह ०.७८ प्रतिशत, फाइनान्स समूह १.४७ प्रतिशत, होटल तथा पर्यटन समूह २.३९ प्रतिशत, हाइड्रोपावर समूह २.७० प्रतिशत, लगानी समूह १ प्रतिशत, जीवन बीमा समूह ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २.५८ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२० प्रतिशत, म्युचुअल फण्ड समूह ०.१३ प्रतिशत, निर्जीवन बीमा समूह १ प्रतिशत र व्यापार समूह ०.६२ प्रतिशतले बढेको छ ।
बजार जानकार कविराज तिमिल्सिनाले सेयर लगानीकर्ताहरु सेयर लगानीकर्ताहरु अझैपनि पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘अर्थमन्त्रीको सम्बोधनपछि बजार लयमा फर्किएको छ, तर लगानीकर्ताले अपेक्षा गरेअनुसारको कारोबार बढ्न सकिरहेको छैन, ठूला लगानीकर्ताहरु अझैपनि पर्ख र हेरको अवस्थामा नै छन्’ उनले भने, ‘साथै लगानीकर्ताहरुमा गभर्नरले समग्र देशको अर्थतन्त्र र पूँजीबजारलाई कसरी सम्बोधन गर्छ भन्ने विषयको कौतुहलता रहेको छ ।’
साथै उनले चैत मसान्तको दबाब सकिएकाले पनि बजार लयमा फर्किएको बताए । ‘चैत मसान्तको प्रेसर सकिएको छ, जसकारण दुईदिन यताको तुलनामा आज कारोबार रकम पनि बढेको छ’ उनले भने, ‘अब विस्तारै नेप्से सूचकसँगै लगानीकर्ताको मनोबल बढेर कारोबार रकम पनि बढ्दै जानेछ ।’
सर्वाधिक कमाउने कम्पनी
आज ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक कमाउनेमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था रहेको छ । यो संस्थाको सेयरभाउ १० प्रतिशतले बढेर ६ हाजार १२८ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको १० प्रतिशतले बढेर ४ हजार २८९.४० रुपैयाँ पुगेको छ भने भुजुङ हाइड्रोपावरको १० प्रतिशतले बढेर १ हजार ८३ रुपैयाँ ५० पैसा पुगेको छ ।
यसका साथै रिज लाइन इनर्जी, सोलु हाइड्रोपावर, होटल फरेस्ट इनको सेयरमूल्य पनि १० प्रतिशतका दरले बढेको छ ।
यता सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोपावरको ९.९९ प्रतिशतका दरले र हिमस्टार उर्जाको ९.६४ प्रतिशत र हिमालयन रि को सेयरभाउ ७.५३ प्रतिशतले बढेको छ ।
सर्वाधिक गुमाउने कम्पनी
आज सर्वाधिक गुमाउने स्टकमा एनआइसी एशिया ब्यालेन्स्ड फण्ड रहेको छ । यो फण्डको इकाईमूल्य ६.७४ प्रतिशतले घटेको छ ।
त्यस्तै, श्वेत गंगा हाइड्रोपावरको २.५५ प्रतिशत, एनआइबीएल समृद्धि फण्ड–२ को २.२६ प्रतिशत, १०.२५% एनबीबीएल डिबेञ्चरको २ प्रतिशत, १०.३५% कृषि विकास बैंक डिबेञ्चरको २ प्रतिशत, १०% प्राइम डिबेञ्चरको १.९७ प्रतिशत, सेञ्चुरी डिबेञ्चरको १.९३ प्रतिशत, लक्ष्मी उन्नती कोषको १.८२ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको १.७८ प्रतिशत र कर्पोरेट डेभलपमेन्ट बैंकको १.७३ प्रतिशतले घटेको छ ।

