काठमाण्डौ । वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) अब पूर्ण रूपमा डिजिटल र फेसलेस प्रणालीमार्फत उपलब्ध हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा प्रवाहलाई पूर्ण रूपमा अनलाइन बनाउँदै विद्यार्थीलाई कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गरेको हो।
नयाँ प्रणाली अनुसार विद्यार्थीले अब एनओसीका लागि अनलाइन आवेदन दिन सक्नेछन् भने सम्पूर्ण प्रक्रिया पूरा भएपछि प्रमाणपत्र आफैं डाउनलोड र प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ। प्रमाणपत्रमा क्यूआर कोड समावेश गरिएको छ, जसबाट यसको प्रमाणिकता सहजै जाँच गर्न सकिनेछ।
यस प्रणालीलाई प्रभावकारी बनाउन एनओसी शाखाले विभिन्न सरकारी निकाय तथा विश्वविद्यालयहरूसँग डेटा अन्तरआवद्धता गरेको छ। सोहीअनुसार नागरिकता विवरण गृह मन्त्रालयको सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम मार्फत स्वतः प्रमाणीकरण हुनेछ भने शैक्षिक विवरण राष्ट्रिय परीक्षा बोर्डको प्रणालीसँग मिलान गरिनेछ।
उच्च शिक्षा अध्ययनका लागि आवश्यक विवरण प्रमाणीकरणका लागि त्रिभुवन विश्वविद्यालयसँग वैशाख ४ गते सम्झौता सम्पन्न गरिएको छ भने काठमाण्डौ विश्वविद्यालयसँग पहिले नै सहकार्य भइसकेको छ। यसले स्नातक तहसम्मका धेरै प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राजस्व संकलन पनि अब अनलाइनमार्फत हुने भएको छ। महालेखा नियन्त्रक कार्यालयको रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टमसँग जोडिएपछि एनओसी शुल्क डिजिटल माध्यमबाट मात्र भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
यद्यपि, केही अवस्थामा—विशेषगरी स्नातकोत्तर तथा सोभन्दा माथिको अध्ययनका लागि—सम्बन्धित विश्वविद्यालयसँग पूर्ण अन्तरआवद्धता नभएकाले कागजात प्रमाणीकरणका लागि आवेदकले अझै कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था रहनेछ।

