काठमाण्डौ । आर्थिक संकट, कच्चा पदार्थ अभाव र व्यवस्थापन चुनौतीका कारण हेटौँडा सिमेन्ट उद्योग फेरि ठप्प भएको छ। लामो समयदेखि समस्यामा गुज्रँदै आएको उद्योगले हालै क्लिङ्कर उत्पादन गरे पनि आवश्यक कच्चा पदार्थ अभावका कारण नियमित उत्पादन जारी राख्न असक्षम भएको छ ।
उद्योग व्यवस्थापनका अनुसार कोइला, ढुङ्गा लगायत अत्यावश्यक कच्चा पदार्थ उपलब्ध नभएपछि उत्पादन रोक्नुपरेको हो। आपूर्ति सुनिश्चित गर्न सम्झौता भए पनि भुक्तानी गर्न नसक्दा ठेकेदारले ढुवानी रोकेको बताइएको छ। अहिले उद्योगले बाँकी रहेको कच्चा पदार्थबाट करिब पाँच हजार टन क्लिङ्कर उत्पादन गरिसकेको छ र त्यसैलाई प्रयोग गरेर सीमित मात्रामा सिमेन्ट प्याकेजिङ भइरहेको छ।
यसैबीच, क्लिङ्कर उत्पादनका क्रममा मेसिनमा आएको प्राविधिक समस्याका कारण मर्मत कार्यसमेत जारी छ । अर्कोतर्फ, उद्योगको वित्तीय संकट झन् गहिरिँदै गएको छ।
कर्मचारीहरूले करिब १० महिनादेखि तलब नपाएको गुनासो गरेका छन्। उद्योगमा १६६ स्थायी, १०० दैनिक ज्यालादारी तथा ५२ सुरक्षाकर्मी कार्यरत रहेकाले यसको प्रत्यक्ष असर ठूलो श्रमिक समुदायमा परेको छ।
वि.सं. २०३३ मा स्थापना भई वि.सं. २०४३ देखि उत्पादन सुरु गरेको यो सरकारी स्वामित्वको उद्योग हो। तर व्यवस्थापन कमजोरी, पूँजी अभाव र आपूर्ति व्यवस्थापनको समस्याले उद्योग बारम्बार बन्द हुँदै आएको छ।

