काठमाण्डौ । नबिल बैंक लिमिटेडले पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा फैलिएको ग्राहक गोपनीयता भंगसम्बन्धी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गर्दै ती सूचना भ्रामक, आधारहीन र प्रमाणविहीन भएको जनाएको छ। बैंकले यस्ता दुष्प्रचारले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर पार्ने उद्देश्य राखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
२०८३ वैशाख ९ गते प्रकाशित एक समाचारमा उल्लेखित बैंकिङ कारोबार विवरण “अनुसन्धानरत निकायबाट प्राप्त” भएको भनी स्रोत खुलाइएको भए पनि उक्त तथ्यलाई बेवास्ता गर्दै केही व्यक्तिहरूले बैंकविरुद्ध नियोजित रूपमा गलत प्रचार गरेको बैंकले जनाएको छ।
कुनै पनि ग्राहकको व्यक्तिगत वा वित्तीय विवरण ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रिया पूरा गरी माग गर्ने नियामक तथा अनुसन्धान निकाय बाहेक अन्य कसैलाई उपलब्ध नगराइने बैंकले स्पष्ट पारेको छ। साथै, बैंकको कोर बैंकिङ प्रणालीमा ग्राहक विवरण कसले, कहिले र किन पहुँच गर्यो भन्ने सम्पूर्ण अभिलेख सुरक्षित रहने व्यवस्था रहेको जानकारी दिइएको छ।
‘क’ वर्गको वाणिज्य बैंकका रूपमा नबिल बैंकले प्रचलित कानुन, नियमन तथा आन्तरिक नीतिहरूको पूर्ण पालना गर्दै आएको र ग्राहक गोपनीयताको संरक्षणमा प्रतिबद्ध रहेको बैंकले दोहोर्याएको छ। बैंकले चार दशकभन्दा लामो आफ्नो विश्वसनीय इतिहासलाई उल्लेख गर्दै अनधिकृत व्यक्तिलाई ग्राहक विवरण हस्तान्तरण गर्ने सम्भावना नरहेको दाबी गरेको छ।
यसैबीच, बैंकले तथ्यहीन सूचना फैलाउने व्यक्ति वा निकायलाई यस्ता गतिविधि तत्काल रोक्न आग्रह गर्दै विद्युतीय कारोबार ऐन, २०६३ लगायत प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।
बैंकले आफ्ना ग्राहक तथा सरोकारवालालाई यस्ता दुष्प्रचारमा विश्वास नगर्न अनुरोध गर्दै सुरक्षित बैंकिङ सेवा प्रदान गर्न आधुनिक प्रविधिको प्रयोग निरन्तर जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

