काठमाण्डौ । खानी तथा भूगर्भ विभागले नवलपुर हुप्सेकोट गाउँपालिका–५, धौवादी क्षेत्रमा झन्डै १० करोड मेट्रिक टन फलामजन्य कच्चा पदार्थ रहेको अनुमान गरेको छ ।
विभागका प्राविधिकहरूले विभिन्न चरणमा गरेको अध्ययनअनुसार स्थानीय नाम्जाकोटदेखि धौवादीसम्म फैलिएको करिब १० किलोमिटर क्षेत्रभित्र फलामको ‘ब्यान्ड’ फेला परेको हो । यही स्रोतको उपयोग गरी व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्यसहित ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरिएको छ । कम्पनीले अहिले पनि थप विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ ।
करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको यो खानीबाट दैनिक १,५०० टन फलाम उत्पादन गर्दै झन्डै ६० वर्षसम्म सञ्चालन गर्न सकिने विभागले जनाएको छ । साथै यस परियोजनाबाट वार्षिक करिब पाँच लाख टन फलामजन्य सामग्री उत्पादन सम्भव हुने र देशको कुल मागमध्ये करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्न मद्दत गर्ने जनाइएको छ ।
खानी सञ्चालनले वातावरणमा पार्ने प्रभावबारे अहिले पर्यावरणीय प्रभाव मूल्यांकन भइरहेको विभागले जनाएको छ । साथै, विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम पनि चाँडै सुरु गरिने जनाइएको छ ।

