म्याग्दी, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुनले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्दै जिल्ला निर्वाचन कार्यालयमा औपचारिक रूपमा बुझाएका छन्।
निर्वाचन आयोगमा पेश गरिएको विवरणअनुसार उनले चुनावी अभियानमा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेको देखिएको छ।
उक्त खर्च प्रचार–प्रसार, यातायात, आवास तथा अन्य विभिन्न शीर्षकमा विभाजन गरिएको छ।
खर्च विवरण अनुसार मनोनयन दर्तामा १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ खर्च भएको छ।
त्यस्तै प्रचार सामग्रीमा २ लाख ९० हजार ५७५ रुपैयाँ, यातायात तथा सवारी मर्मतमा ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च भएको उल्लेख छ।
चालक ज्यालामा १ लाख ४० हजार रुपैयाँ, होटल तथा खाना खर्चमा १३ लाख ७ हजार ६१९ रुपैयाँ, डिजेलमा ३ लाख ६० हजार ४९९ रुपैयाँ खर्च भएको विवरणमा देखाइएको छ।
स्टेशनरीमा २५ हजार ३०० रुपैयाँ र विविध शीर्षकमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको पनि उल्लेख छ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका पुनले २२ हजार ८५० मत प्राप्त गर्दै १४ हजार ९३१ मतान्तरले विजयी भएका थिए।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत पाएका थिए।
निर्वाचन आयोगको नियमअनुसार निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले आफ्नो खर्च विवरण अनिवार्य रूपमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

